विराटनगर महानगरपालिकाको सिटीबस चलाउने तयारी, बिहीबारदेखि परीक्षण सुरु

  • ब्रह्मदेव यादव ५४८  पटक हेरिएको

बिहिबार, फाल्गुण १८, २०७९ समय : १७:०५:२७ , २ वर्ष अगाडि

विराटनगर महानगरपालिकाले बढिमा ३ महिनाभित्र सिटीबस चलाउने तयारी गरेको छ । २ महिनाको तयारी पछि बिहीबार महानगरपालिकाले सिटीबस संचालनको परिक्षण गरेको हो । महानगरपालिकाका उपमेयर शिल्पा निराला कार्की प्रमुख प्रशासकिय अधिकृत विष्णु कोइराला, अधिकृत पुनम दाहाल र नगरप्रहरी निरीक्षक राजन पौडेलसहित महानगरपालिकाका कर्मचारीहरु बिहीबार २ वटा बस मार्फत नगरक्षेत्रको अवलोकन गरेका छन् ।

विराटनगर महानगरपालिका क्षेत्रमा ठुला, मझैला र साना कुन बस चलाउन उपयुक्त हुन्छ त्यसको लागि ठुला बस मार्फत नगरक्षेत्रको अवलोकन गरेको हो । उपमेयर कार्कीले निजी क्षेत्रसंग सहकार्य गरेर सिटीबस संचालन गर्ने तयारी अन्तिम चरणमा पुगेको जानकारी गराए । उनले महानगरपालिकाले निजी क्षेत्रसंग सहकार्य गरेर सिटीबस संचालन गर्ने महानगरपालिकाको बोर्ड बैठकले निर्णय गरेको बताए ।

चाडैनै महानगरपालिकाले सिटीबस संचालनकालागि टेन्डर आवहन गर्ने तयारी सुरु भईसकेको बताए । प्रमुख प्रशासकिय अधिकृत कोइरालाले नगरक्षेत्रमा ठुला बस चल्न सक्छकी सक्दैन भन्ने उद्देश्यकासाथ ठुला बसबाटै नगरक्षेत्रमा परिक्षण गरिएको बताए । महानगरपालिकाले नगरको ४ वटा स्थानबाट एकैपटक सिटीबस चलाउने तयारी गरेको छ ।

महानगरपालिकाले गंगा चोक, खारजी चोक, राजवंशी चोक, दुध फारम, आयल निगम, कञ्चनबारी, पिपल चोक, बरगाछी, मुनालपथ, बिजुली अफिस, शनि मन्दिर, घाँस चोक, महेन्द्र चोक, बसपार्क, रोडशेष चोक, कोशीप्रोजेक्ट, फार्मेसी चोक, तालिम केन्द्र जाने बाटो, भट्टीमोड, सिमा प्रहरी चौकी, ३ नं. ढाट, २ नं. ढाट हुँदै इलाका प्रहरी कार्यालय, रानीदेवी रोडशेष चोक हुँदै गंगा चोकसम्म एकतफी जम्मा १५ किलोमिटरको क्षेत्रफललाई पहिलो रुट कायम गरिएको छ ।

अमाही, इकराही चोक, नोबेल अस्पताल नहर, कञ्चनबारी चोक, वडा नं. ३ वडा समिति कार्यालय, पोखरीया स्कुल, दुर्गा चोक, तीनपैनी चोक, महानगरपालिकाको पश्चिम गेट, जलजला चोक, हस्पिटल चोक, देवकोटा चोक, जतुवा हुँदै विराटनगर–१८, बुधनगरसम्मको जम्मा १८ किलोमिटरको क्षेत्रलाई दोस्रो रुट कायम गरिएको छ ।

गायक चोक, दरैया, विराटनगर–१६, विराटनगर–१२ दरैया, बखरी, मंगलबारे हाट, कामत चोक, पञ्चमुखी चोक, पिचरा, बसपार्क, संसारीमाइस्थान, ट्राफिक चोक, बुधहाट, देवकोटा चोक, हस्पिटल चोक, शनिहाट चोक, तीनपैनी, ठुलो मिल चोक, पुष्पलाल चोक हुँदै मिलन चोकसम्मको जम्मा १५ किलोमिटर क्षेत्रलाई तेस्रो रुट कायम गरिएको छ ।

हाटखोला, देवकोटा चोक, हस्पिटल चोक, घोघापुल चोक, ठाकुरवाडी रोड, महाविर रोड, घाँस चोक, केशलिया रोड हुँदै बरंपुरा रिङ रोडसम्मको क्षेत्रलाई चौथो रुट कायम गरिएको छ ।