संविधान त्रुटीपूर्ण रहेकोले स्थानिय सरकार विकासमा पछाडी पर्‍यो– मेयर कोइराला

  • ... २९०  पटक हेरिएको

बुधबार, फाल्गुण ०३, २०७९ समय : १५:४८:४५ , २ वर्ष अगाडि

  • चिरफार डटकम, विराटनगर

विराटनगर महानगर पालिकाका मेयर नागेश कोइरालाले नेपालको संविधान २०७२ त्रुटीपूर्ण रहेकोले स्थानिय सरकार अधिकार सम्पन्न हुन नसकेको गुनासो व्यक्त गरेको छ । गैर सरकारी संस्था महासंघ नेपाल मोरङको १८औं वार्षिक साधारण सभाको प्रमुख अतिथिको रुपमा उद्घान मन्तव्य व्यक्त गर्दै मेयर कोइरालाले पहिलो पटक नेपालको संविधान २०७२ त्रुटीपूर्ण रहेको विषयमा सार्वजनिक धारणा सार्वजनिक गरे ।

सरकारले २०७२ को संविधान जारी गर्दा कोइराला नेपाली कांग्रेस मोरङको नेताको हैसियतले संविधानको भव्य स्वागत गरेका थिए । संविधान जारी भएको ८ बर्षपछि नेपाली कांग्रेस मोरङका उपसभापति एवं विराटनगर महानगरपालिकाका मेयर कोइरालाले संविधान त्रुटीपूर्ण रहेको मुख खोलेका छन् । मोरङका प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईका सामने मेयर कोइरालाले संविधान त्रुटिपूर्ण रहेकोले स्थानिय तहले पाउनु पर्ने जति अधिकार पाउन नसक्दा समग्र विराटनगर महानगरपालिका विकासमा पछाडी परेको बताए ।

संविधानमा त्रुटी पूर्ण रहेकै कारण तीन तहको सरकारले विकास निर्माणको काम बारे अन्योलता रहेको कोइरालाले बताए । संविधानले विकास निर्माणको काम बारे स्पष्ट व्यवस्था गरेको छैन । संघिय, प्रदेश र स्थानिय सरकारले एउटै विकास निर्माणको शिर्षकमा बेग्लाबेग्लै बजेट बिनियोजन गरेर काम गरिरहेकोले बाँकी क्षेत्रको विकास निर्माणको काम छाँयामा परेको कोइरालाले बताए ।

नेपालको संविधान २०७२ ले संघियतालाई मजबुत पार्ने गरी अधिकार प्रत्याजोन नगरेकोले प्रदेश र स्थानिय तह सरकार अधिकारबाट बञ्चित रहेको कोइरालाले बताए ।