विराट व्यापार संघको क्यालेण्डरमा सुरक्षा सामग्री

  • ब्रह्मदेव यादव, विराटनगर २४३  पटक हेरिएको

सोमबार, बैशाख ०८, २०८२ समय : १४:०५:१३ , ४ घन्टा अगाडि

विराट व्यापार संघको केन्द्रिय कार्यालय विराटनगरले सुरक्षा सामग्री समेटेर नयाँ वर्ष २०८२ सालको क्यालेण्डर प्रकाशन गरेको छ । विराट व्यापार संघले आइतबार विराटनगरमा आयोजना गरेको नयाँ वर्ष २०८२ सालको शुभकामना आदानप्रदान तथा भित्ते पात्रोको विमोचन कार्यक्रममा सुरक्षा सामग्री समेटिएको नयाँ वर्षको क्यालेण्डर सार्वजनिक गरेको हो ।

मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, मोरङका प्रहरी प्रमुख एसपी नारायण चिमडिया, राष्ट्रिय अनुसन्धान मोरङका प्रमुख एसपी तिलक प्रसाईं, विराट व्यापार संघका अध्यक्ष अंशु बन्जरा, संघका निवर्तमान अध्यक्ष नरेश खत्री, संघका पूर्व अध्यक्ष एवं मोरङ चेम्बर अफ कमर्सका अध्यक्ष यादव पोखरेल, संघका पूर्व अध्यक्ष शिव रिजालले नयाँ वर्षको क्यालेण्डर सार्वजनिक गरेका थिए ।

संघका अध्यक्ष अंशु बन्जराले ७ हजार ५ सय भन्दा बढी घर धुरीमा संघको क्यालेण्डर पुगेको बताए । क्यालेण्डरमा प्रहरी सुरक्षासँग सम्बन्धी क्यू.आर. स्याकनर कोर्ड रहेकोले क्यालेण्डर पुगेको घर सुरक्षाको दृष्टि कोणले सुरक्षित रहेको बताए ।

मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले विराट व्यापार संघले मोरङ प्रहरी सँग समन्वय र सहकार्य गरेर सुरक्षा सामग्री समेटेर प्रकाशन गरेको क्यालेण्डले समाज शान्ति सुरक्षाको दृष्टि कोणले मजबुत रहेको बताए ।

प्रमुख जिल्ला अधिकारी यादवले आफू साढे ३ महिनादेखि मोरङको प्रमुख जिल्ला अधिकारीको रूपमा कार्यरत रहेको अवस्थामा विराट व्यापार संघका पदाधिकारीहरूको व्यापारिक समस्या र समाधानको विषयमा प्रशासन सँग सहजीकरण गर्ने क्षमता रहेको बताए ।

मोरङका प्रहरी प्रमुख एसपी नारायण चिमडीया र राष्ट्रिय अनुसन्धान मोरङका प्रमुख एसपी तिलक प्रसाईँले सुरक्षा सामग्री समेटिएर प्रकाश गरिएको क्यालेण्डरले समाजमा शान्ति, सुरक्षा कायम राख्न थप मदत पुग्ने बताए । विराट व्यापार संघका पदाधिकारी र कार्यसमितिका सदस्यहरू शुभकामना आदान प्रदान तथा भित्ते पात्रो विमोचन कार्यक्रममा सहभागी थिए ।