कोशी प्रदेशमा वैशाख १८ र १९ गते लगानी सम्मेलन 

  • ब्रह्मदेव यादव, विराटनगर ४१८  पटक हेरिएको

बुधबार, बैशाख ०३, २०८२ समय : १३:२४:४६ , ३ दिन अगाडि

कोशी प्रदेशमा २०८२ वैशाख १८ र १९ गते लगानी सम्मेलन आयोजना गरिने तयारी भइरहेको छ । कोशी प्रदेशका मुख्यमन्त्री एवं लगानी सम्मेलनका संयोजक हिक्मतकुमार कार्कीले बुधबार विराटनगरमा पत्रकार सम्मेलन आयोजना गरेर पहिलो लगानी सम्मेलनबाट १ खर्ब ७० करोड रुपैयाँ बराबरको परियोजनामा लगानी भित्र्याउन लागेको बताए ।

कोशी प्रदेशको कृषि, उर्जा, पर्यटन, आइटी सहित ५४ वटा परियोजनाका लागि स्वदेशी तथा विदेशी लगानी भित्र्याउन लागेको मुख्यमन्त्री कार्कीले बताए । कोशी प्रदेश सरकारको परियोजना, निजी क्षेत्रको परियोजना र स्थानीय तहको परियोजना छनौट भएको र यसरी छनौट भएको परियोजनाका लागि स्वदेशी तथा विदेशी लगानी कर्ताहरूसँग लगानी सम्मेलनको दोस्रो दिन वैशाख १९ गते विराटनगरमा हस्ताक्षर हुने कार्यक्रम रहेको मुख्यमन्त्री कार्कीले बताए ।

२०८२ वैशाख १८ गते विराटनगरको वीरेन्द्र सभा गृहमा लगानी सम्मेलनको उद्घाटन हुने कार्यक्रम रहेको छ । ७ देशका लगानी कर्ता लगानी सम्मेलनमा सहभागी हुने छ । वैशाख १९ गते लगानी सम्मेलनको दोस्रो दिन नेपालमा लगानी गर्न चाहने लगानी कर्ताले लगानी गर्ने कम्पनी सँग हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ । विराटनगरको वीरेन्द्र सभागृहमा आयोजना गर्न लागेको लगानी सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने छन् ।

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले भने: प्रधानमन्त्री केपी शर्मा ओली लगानी सम्मेलनको उद्घाटन समारोहमा आउने की समापन समारोहमा आउने टुंगो लागेको छैन । तर प्रधानमन्त्री लगानी सम्मेलनमा आउने पक्का पक्की भएको छ । लगानी सम्मेलनका सहसंयोजक नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउत, नेपाल उद्योग परिसंघ कोशी प्रदेशका अध्यक्ष एवं संविधान सभा सदस्य पवनकुमार सारडा, मोरङ उद्योग व्यापार संघ विराटनगरका अध्यक्ष अनुपम राठी, कोशी प्रदेश सरकारका मन्त्री, सचिव, कोशी प्रदेश लगानी प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. सरोज कोइराला, उद्योगी व्यवसायीहरू  पत्रकार सम्मेलनमा सहभागी थिए ।