
- ब्रह्मदेव यादव, विराटनगर ३४० पटक हेरिएको
मंगलबार, फाल्गुण २७, २०८१ समय : १३:४३:११ , १ दिन अगाडि
भारतीय हास्य कलाकार सुनिल पाल, गौरव शर्मा र जिमी मोसेजले आज मंगलबार विराटनगर तताउने कार्यक्रम रहेको छ । मारवाडी युवा मञ्च विराटनगरले होली पर्वको अवसरमा हास्य सम्मेलनको आयोजना गरेको छ ।
विराटनगरको जैन श्वेताम्बर तेरापंथ सभा भवनको प्राङ्गणमा सहभागिता जनाउने ३ हजार ५ सयभन्दा बढी विराटनगरवासीको अगाडि भारतीय हास्य कलाकार सुनिल पाल, गौरव शर्मा र जिमी मोसेजले हास्य विधा मार्फत मनोरञ्जन प्रदान गर्ने कार्यक्रम रहेको मारवाडी युवा मञ्च विराटनगरको पूर्व अध्यक्ष युवा उद्यमी गोपाल अग्रवालले जानकारी गराए ।
जिमी मोसेज भारतका चर्चित हास्य कलाकार जोनी लिभरका भाइ हुन् । मारवाडी युवा मञ्च विराटनगरका अध्यक्ष अंकित मारु, प्रथम उपाध्यक्ष मोहित लालवानी, द्वितीय उपाध्यक्ष मोहित अग्रवाल, महासचिव धिरज शर्मा कार्यक्रमलाई भव्य रूपमा सम्पन्न गर्न जोडतोडका साथ तयारीमा जुटेका छन् ।
विराट व्यापार संघका उपाध्यक्ष केके चार्बी सप्लायर्स विराटनगरका प्रबन्ध निर्देशक प्रविण अग्रवाललाई हास्य सम्मेलनको संयोजकको जिम्मेवारी सुम्पिएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की हास्य सम्मेलनको प्रमुख अतिथि रहने छन् । हरि सिंह, उषादेवी दुगड, च्यारेटी टेबल ट्रष्टले हास्य सम्मेलन कार्यक्रमलाई प्रायोजन गरेका छन् ।
मारवाडी युवा मञ्च विराटनगरले मारवाडी संस्कृतिलाई जर्गेना गर्दै विराटनगरमा होली पर्वको उल्लासमय माहोल बनाउने काम गर्दै आइरहेका छन् । मारवाडी युवा मञ्च विराटनगरले विराटनगरमा हास्य सम्मेलन र अलबेली वारात गरी मुख्य दुईवटा कार्यक्रम आयोजना गर्ने गरेका छन् ।
जुन मारवाडी समुदायले विराटनगरमा आयोजना गर्ने नेपालको सबैभन्दा ठुलो कार्यक्रम हो । जुन कार्यक्रममा ३ हजार ५ सय भन्दा बढी मारवाडी समुदायका व्यक्तिहरू एक ठाउँमा उपस्थित भएर सामूहिक गोठ (भोज) खाने गरेका छन् ।