
- ब्रह्मदेव यादव, विराटनगर २७९ पटक हेरिएको
आइतबार, फाल्गुण ११, २०८१ समय : १४:०९:२१ , २ महिना अगाडि
चालकलाई जिम्मेवार बनाउन सवारी साधनमा सडक दुर्घटना न्यूनीकरण सुरक्षा सचेतना जागरण अभियान सुरु गरिएको छ । कोश प्रदेशका प्रहरी प्रमुख डिआइजी राजन अधिकारीले आइतबार विराटनगर बस पार्कमा सवारी साधनमा स्टिकर टाँसेर अभियानको शुभारम्भ गरेका छन् ।
नेपाल यातायात मजदुर संघ र नेपाल यातायात स्वतन्त्र मजदुर संगठन मोरङले संयुक्त रूपमा सडक दुर्घटना न्यूनीकरण तथा सडक सुरक्षा सचेतना जागरण अभियानको आयोजना गरेका थिए । नेपालमा मादक पदार्थ र लागु पदार्थ सेवन गरेर चालकले तीव्र गतिमा सवारी साधन कुदाउने गरेको कारण ७० प्रतिशत दुर्घटना हुने गरेको सरकारी तथ्याङ्क छ ।
त्यसलाई न्यूनीकरण गर्न र सर्वसाधारणको ज्यानलाई सुरक्षित बनाउने सवारी चालकलाई जिम्मेवार बनाउन मजदुर संघ संगठनले कार्यक्रमको आयोजना गरेका थिए । कार्यक्रममा कोशी प्रदेश प्रहरी प्रमुख डिआइजी राजन अधिकारी, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थान कार्यालय सुनसरी, इटहरीका डिएसपी रामेश्वर त्वाती, जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी नारायण चिमरीया, नेपाल यातायात स्वतन्त्र मजदुर संघका केन्द्रीय अध्यक्ष भीम ज्वाल राई, नेपाल ट्रेड युनियन महासंघ (जिफण्ट) कोशी प्रदेश अध्यक्ष किशोर धमला, नेपाल ट्रेड युनियन कांग्रेस मोरङका अध्यक्ष सुशिल कोइराला र नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका केन्द्रीय सदस्य एवं सुनौलो पूर्व नेपाल यातायात सेवा प्रा+लि+ का अध्यक्ष राजन कडेलले सवारी दुर्घटना न्यूनीकरणका लागि सचेतना अभियान सञ्चालन गरिएकोले सवारी साधन कुदाउने चालकलाई सडक ऐन कानुनको पालना गरेर सवारी साधन कुदाउन सुझाव दिएका छन् ।