
- ब्रह्मदेव यादव, विराटनगर ८७२ पटक हेरिएको
मंगलबार, माघ २९, २०८१ समय : १६:४६:२७ , ४ हप्ता अगाडि
विराटनगर महानगरपालिका क्षेत्रमा १० वर्षमा हुन नसकेको काम १ वर्षको अवधिमा भएको मेयर नागेश कोइरालाले बताएका छन् । विराटनगर महानगरपालिकाको समन्वयमा मकालु टेलिभिजनले मंगलबार विराटनगर महानगरपालिकाकै हलमा आयोजना गरेको सार्वजनिक सुनुवाइमा मेयर कोइरालाले १० वर्षमा हुन नसकेको विकास निर्माणको काम १ वर्षको अवधिमा भएको बताए ।
सार्वजनिक सुनुवाइ कार्यक्रममा विकास निर्माणको काम बारे उठेको प्रश्नको जवाफ दिर्दै मेयर कोइरालाले समग्र विराटनगर महानगरपालिका क्षेत्रको विकास निर्माणको काम भइरहेको बताए । विराटनगरको हुलाकी सडक मार्ग संघीय सरकार मातहत रहेका छन् । विराटनगरको वडा नं. ४ र ५ को सिमानामा पर्ने जामुनगाछी सडक मार्गको काम संघीय सरकारले गरिरहेको भए पनि विराटनगर महानगरपालिकाको निरन्तर समन्वय र दबाबको कारण द्रुत गतिमा विकास निर्माणको काम भइरहेको बताए ।
मेयर कोइरालाले १० वर्षको अवधिमा अलपत्र अवस्थामा रहेको हुलाकी राजमार्ग अन्तर्गतको जामुनगाछी सडक मार्ग विराटनगर महानगरपालिकाकै समन्वय र दबाबका कारण काम भइरहेको बताए । विराटनगरमा उपलब्ध वडाध्यक्षहरुलाई मञ्चमै राखेर मेयर कोइरालाले महानगरपालिका बाट प्रवाह भइरहेको सेवा सुविधा र विकास निर्माणको बारे महानगरवासीलाई सन्तुष्ट पार्ने काम गरेका थिए । सम्बन्धित वडामा भइरहेको विकास निर्माणको बारे वडाध्यक्षले जवाफ दिई सकेपछि मेयर कोइरालाले समग्र विराटनगरको विकास निर्माणको कार्य बारे स्पष्ट पारेका थिए ।
मेयर कोइरालाले विराटनगर महानगरपालिकाको फोहोर विसर्जनका लागि विराटनगर–६ र ११ नं. वडाको केशलिया खोला नजिक डम्पिङ साइड बनाउने बारे डिपिआर भइरहेको बताए । केशलिया खोलामा समसानघाट बनाउने योजना अगाडि सारिएको, साझेदारसँग महानगर बस सञ्चालन गर्ने पक्रिया अगाडि बढेको, ज्येष्ठ नागरिकका लागि सुविधा सम्पन्न ज्येष्ठ नागरिक भवन बनाउन जग्गा खरिद गर्नेदेखि विदेशबाट सहयोग रकम आइरहेको मेयर कोइरालाले बताए ।
विराटनगर–३ लाई डुबान मुक्त क्षेत्र बनाउन कोशी प्रदेश सरकारको सहयोगमा विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्षमा एकमुस्ट मोटो रकम विनियोजन गर्ने तयारी गरिरहेको मेयर कोइरालाले बताए । वडा वडामा ठुला विकास निर्माणका कामहरू वडाको बजेटले अगाडि बढ्न नसकिरहेको अवस्थामा महानगरपालिकाले एकमुस्ट मोटो रकम विनियोजन गरेर विकास निर्माण कार्यलाई अगाडि बढाउन आजको आवश्यकता रहेको जनस्तरबाट उठेको प्रश्नको जवाफ दिँदै मेयर कोइरालाले वडा स्तरमा हुन नसकेको विकास निर्माणको काम बारे वडाबाटै सिफारिस गरेर आएको खण्डमा महानगरपालिकाले प्राथमिकताको आधारमा त्यस्ता विकास निर्माण कार्यलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
विराटनगर महानगरपालिकाका उपमेयर शिल्पा निराला कार्की निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेल सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागी थिए ।