
- ब्रह्मदेव यादव, विराटनगर १०२५ पटक हेरिएको
सोमबार, माघ २८, २०८१ समय : १४:२७:०२ , १ महिना अगाडि
विराटनगर भन्सार कार्यालयले ३७ लाख रुपैयाँ पर्ने धान काट्ने कृषि मेसिन रोकेर राखेका छन् । विराटनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत ज्ञानेन्द्रराज ढकालले भारतबाट नेपाल निर्यात हुन लागेको सागर मोटर्स पाट रामधुनी–१, सुनसरीको धान काट्ने कृषि मेसिनलाई जाँच पास नगरीकन ३ महिनादेखि रोकेर राखेका छन् । सागर माटर्स पाट रामधुनी–१, सुनसरीको नामबाट मेसिन निर्यात गर्न लागेका इटहरी उपमहानगरपालिका वडा नं. १६ का चन्दनकुमार साहले सोमबार विराटनगरमा पत्रकार सम्मेलन गरेर भन्सार प्रमुख ढकालले मेसिन जाँच पास गर्न आनाकानी गरिरहेको बताए ।
पत्रकार सम्मेलनमा साहले भने– मैले २०८१ कात्तिक २८ गते भारतको पन्जाब राज्यबाट सरकारी मापदण्ड बमोजिम धान काट्ने मेसिन विराटनगर भन्सार कार्यालयमा ल्याएको छु । तर भन्सार प्रमुख ढकालले मापदण्ड नपुगेको भन्दै ३ महिनादेखि मेसिन रोकेर राखेका छन् । मेसिन निर्यात कर्ता साहले २०८१ मंसिर १७ गते मापदण्ड पुग्दैन भने मेसिन फिर्ता पठाइदिन विराटनगर भन्सार कार्यालयमा निवेदन दर्ता गराएका छन् । तर भन्सार प्रमुख ढकालले नत मेसिन जाँच पास गर्न मानिरहेका छन् । नत मेसिन फिर्ता पठाउन मानिरहेका छन् ।
साहले विराटनगर भन्सार कार्यालयमा मेसिन पार्किङ गरेर राखे बापत ट्रान्स नेपाल सर्भिस प्रा.लि.लाई २९ हजार ९ सय ८३ रुपैयाँ ४७ पैसा भाडा तिरी सकेका छन् । २ वर्ष कतार र २ वर्ष साउदी अरबमा काम गरेर बाँकी जीवन नेपालकै व्यापार व्यवसायमा खर्च गर्ने उद्देश्यका साथ घर फर्केका साहले बैंकबाट २६ लाख रुपैयाँ ऋण लिएर धान काट्ने मेसिन निर्यात गर्न लागेका छन् । तर ३ महिनादेखि मेसिन विराटनगर भन्सार कार्यालयमा थन्किदा छोरा चन्दन साहले बैंकको ऋण तिर्न नसकेर आत्महत्या गर्नेहोकी डरले आमा बुवा चिन्तामा डुबेका छन् ।
प्रत्येक दिन छोरा चन्दन साह घर नपुग्दासम्म आमा बुवा छोराको साथीको सहयोगमा खोजी गर्न निस्कन्छन् । तर विराटनगर भन्सार कार्यालयका प्रमुख ढकाल सरकारलाई बदनाम गराउने उद्देश्यका साथ तानासाहको रुपमा काम गर्दै मेसिन रोकेर राखेका छन् । धान काट्ने मेसिन समयमा आई नपुग्दा सुनसरी, रामधुनी–४ का किसान लालबहादुर कार्की, शंकरबहादुर थापाको आधा धान खेतमै अलपत्र अवस्थामा छ ।
रामधुनीका किसानले धान काट्ने मेसिन ल्याउन लागेको थाहा पाएर विदेश जाने तयारीमा रहेका बुढिगंगा–२ का शनिदेव चौधरी मेसिन चलाउन पाउने भए भन्दै विदेश जाने भिसा क्यान्सिल गरेका थिए । भन्सार प्रमुख ढकालले नेपालमै हलो जोत्न चाहने व्यक्तिलाई विदेश जान लखेटिन खोजेको कृषक लालबहादुर कार्कीको गुनासो छ । चन्दन साहले पटक पटक मेसिन कसरी जाँच पास हुन्छ भने राय सुझाव लिन भन्सार प्रमुख ढकाल सँग भेटघाट गर्न खोज्दा उनी भेट्न मान्दैन ।
भेटेपछि आफू भन्सारको नियम ऐन र कानुन बनाउने व्यक्ति भएकोले कसैले चाहेर पनि केही गर्न नसक्ने भन्दै साहलाई हप्काएर फिर्ता पठाइदिने गरेका छन् । चन्दन साहले भन्सार प्रमुख ढकाल बाहेक भन्सार अधिकृत सुमित गुप्तासँग मेसिन जाँच पास गराउने विषयमा पटक पटक कुराकानी भएको तर उनीबाट मेसिन जाँच पास हुन्छ की हुँदैन भन्ने विषयमा ठोस जवाफ नआएको बताए । समाचारको विषयलाई लिएर विराटनगर भन्सार कार्यालयको आधिकारीक धारणा बुझ्न भन्सार अधिकृत एवं सूचना अधिकारी सुमित गुप्तासँग सम्पर्क गर्दा उहाँको मोबाइल बन्द रहेकोले सम्पर्क हुन सकेन ।