
- ब्रह्मदेव यादव, विराटनगर ४१३ पटक हेरिएको
आइतबार, माघ २७, २०८१ समय : १८:१२:१६ , १ महिना अगाडि
शौचालय निर्माण गर्नका लागि मोरङको सुन्दरहरैंचा नगरपालिकामा विराट एक्स्पोको आयोजना गर्न लागिएको छ । सुन्दरहरैंचा उद्योग वाणिज्य संघले माघ ३० देखि फागुन १० गतेसम्म सुन्दरहरैंचा नगरपालिकाको वडा नं. १० स्थित विराट चौकमा विराट एक्स्पो २०८१ को आयोजना गर्न लागेको हो ।
सुन्दरहरैंचा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कार्की सहितका पदाधिकारीहरूले आइतबार पत्रकार सम्मेलन गरेर शौचालय निर्माणका लागि चौथो संस्करणको विराट एक्स्पोको आयोजना गर्न लागेको बताए । सुन्दरहरैंचा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष एवं उद्योग संगठन मोरङका उपाध्यक्ष भोलेश्वर दुलाललाई विराट एक्स्पोको संयोजकको जिम्मेवारी दिइएको छ ।
दुलालको नेतृत्वमा संघले तेस्रो पटक सुन्दरहरैंचा विराट एक्स्पोको आयोजना गर्न लागेको हो । सुन्दरहरैंचा विराट एक्स्पोका संयोजक दुलालले १५ करोड ६५ लाख रुपैयाँको लागतमा ८ वटा शौचालयको निर्माण कार्य जारी रहेको बताए । विराट एक्स्पोबाट खर्च कटाएर आम्दानी भएको रकम शौचालय निर्माणका लागि खर्च गरिने दुलालले बताए ।
सुन्दरहरैंचा उद्योग वाणिज्य संघले विराट चोकमा लिजमा लिएको ३ बिघा क्षेत्रफल जग्गामा विराट एक्स्पोको आयोजना हुन लागेका छन् । साढे ३ करोड उपभोक्ताले अवलोकन गर्ने सुन्दरहरैंचा विराट एक्स्पोबाट खर्च कटाएर २ करोड भन्दा बढी रुपैयाँ आम्दानी गर्ने लक्ष्यका साथ अगाडि बढेको एक्स्पो संयोजक दुलालले बताए ।
नेपाल उद्योग परिसंघका केन्द्रीय उपाध्यक्ष भीम घिमिरे, सुन्दरहरैंचा नगरपालिकाका पूर्व मेयर शिवप्रसाद ढकाल, सुन्दरहरैंचा उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष कृष्णप्रसाद रिजाल पत्रकार सम्मेलनमा सहभागी थिए ।