
- ब्रह्ममदेव यादव, विराटनगर ८०० पटक हेरिएको
शनिबार, माघ २६, २०८१ समय : १४:५१:२५ , २ महिना अगाडि
विराटनगर–१० स्थित अरनिको आवासीय माध्यमिक विद्यालयले खेलकुद सप्ताहमा सहभागी २ सय ५० विद्यार्थीलाई शनिबार शिल्ड, मेडल र प्रमाण-पत्र वितरण गरेका छन् । विद्यालयले माघ २२ गतेदेखि सुरु गरेको खेलकुद सप्ताह शनिबार सकिएको छ ।
अरनिको आवासीय माध्यमिक विद्यालयमा नर्सरीदेखि कक्षा १० सम्म ९ सयको हाराहारीमा विद्यार्थी अध्ययनरत रहेका छन् । विद्यालयले ४८औं वार्षिकोत्सवको अवसरमा आयोजना गरेको खेलकुद सप्ताह २०८१ मा ९ सय विद्यार्थीमध्ये ५ सय भन्दा बढी विद्यार्थी सहभागी थिए । विद्यालयले क्रिकेट, फुटबल, बास्केटबल, टेवलटेनिस, रेसिङ लगायतका खेलहरू सञ्चालन गरेका थिए ।
खेलकुद कार्यक्रममा सहभागिता जनाएका ५ सय मध्ये २ सय ५० भन्दा बढी विद्यार्थीहरूले विजेता, उपविजेता सहित उत्कृष्ट नतिजा ल्याउन सफल भएका थिए । खेलकुदको माध्यमबाट अरनिकोले पढाइमा मात्रै नभई खेलकुदमा पनि अब्बल रहेको सन्देश प्रवाह गर्न सफल भएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि विराटनगर–१० का वडाध्यक्ष अर्जुन गिरी, अरनिको आवासीय विद्यालयका सञ्चालकहरू अध्यक्ष लक्ष्मीप्रसाद अधिकारी, प्रिन्सिपल राजेश कार्की, विकास खनाल, निलम अधिकारी, भरत दाहाल, विलाश लुइँटेल र भविन्द्र कार्कीले विजेता विद्यार्थीहरूलाई शिल्ड, मेडल र प्रमाण-पत्र वितरण गरेका थिए ।