नविन रिजाललाई विराट गोल्डकपको जिम्मेवारी

  • ब्रह्मदेव यादव, विराटनगर ५९२  पटक हेरिएको

मंगलबार, माघ २२, २०८१ समय : १४:१३:४६ , १ दिन अगाडि

विराट गोल्डकप फुटबल प्रतियोगिता गराउने जिम्मेवारी उद्योगी नविन रिजालको काँधमा आइपुगेको छ । रिजाल नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यको जिम्मेवारीमा रहेका छन् ।

उनी मोरङ उद्योग व्यापार संघका निवर्तमान अध्यक्ष हुन् । विराट गोल्डकप फुटबल ट्रष्टका अध्यक्ष किशोरबहादुर शाहीको अध्यक्षतामा मंगलबार बसेको बैठकले मोरङ उद्योग व्यापार संघका निवर्तमान अध्यक्ष रिजाललाई फुटबल प्रतियोगिता गराउने जिम्मेवारी दिएको हो ।

विराट गोल्डकप फुटबल ट्रष्टका अध्यक्ष किशोरबहादुर शाही सहितका पदाधिकारीहरू मंगलबार मोरङ उद्योग व्यापार संघ पुगेर संघका निवर्तमान अध्यक्ष रिजाललाई विराट गोल्डकप फुटबल प्रतियोगिताको संयोजक तोकेको पत्र हस्तान्तरण गरेका थिए । अब मोरङ उद्योग व्यापार संघको टिमले निवर्तमान अध्यक्ष रिजाल संयोजक रहेको विराट गोल्डकप फुटबल प्रतियोगिता गराउने छ ।

२०८१ फागुन १९ देखि २८ गतेसम्म विराटनगर स्थित शहिद रंगशालामा फ्लड लाइटमा दिवा रात्रिकालीन फुटबल प्रतियोगिता आयोजना गर्ने तयारी सुरु भइसकेको संयोजक रिजालले बताए ।

रिजाल यस अघि मोरङ उद्योग व्यापार संघको महासचिव रहेको बेला पहिलो पटक विराटनगरमा फ्लड लाइट जडान गरेर दिवा रात्रिकालीन समयमा विराट गोल्डकप फुटबल प्रतियोगिताको आयोजना गरिएको थियो । जुन प्रतियोगिता भव्य एवं ऐतिहासिक रूपमा सम्पन्न भएको थियो ।

मंगलबार चिरफार डटकम सँग कुरा गर्दै संयोजक रिजालले मोरङ उद्योग व्यापार संघको महासचिव हुँदा विराट गोल्डकप फुटबल प्रतियोगिता आयोजना गर्न २ महिनाको समय पाएका थिए । तर यतिखेर प्रतियोगिता सम्पन्न गर्न २६ दिनको समय पाएको छु । तर पनि भव्य एवं ऐतिहासिक रूपमा फुटबल प्रतियोगिता सम्पन्न गर्ने तयारी सुरु गरिसकेको बताए ।

विराटनगरलाई चिनाउने पुरानो एवं ऐतिहासिक विराट गोल्डकप फुटबल प्रतियोगिता हो । जुन प्रतियोगिता सम्पन्न गर्न १ करोड २५ लाख भन्दा बढी रुपैयाँ खर्च लाग्छ । अघिल्लो वर्ष विराट गोल्डकप फुटबल ट्रष्ट विराटनगरले आफैले फुटबल प्रतियोगिता आयोजना गरेका थिए ।

कोशी प्रदेश सरकारले बोलकबोल गरेको २५ लाख रुपैयाँ र राष्ट्रिय खेलकुद परिषद्ले ५ लाख रुपैयाँ गरी जम्मा ३० लाख रुपैयाँ नदिँदा विराट गोल्डकप फुटबल प्रतियोगिता सम्पन्न गर्दा २२ लाख ६५ हजार रुपैयाँ घाटा बेहोरिएको थियो ।

यसपल्ट विराट गोल्डकप फुटबल ट्रष्ट विराटनगरले ट्रष्टी एवं उद्योगी नविन रिजाललाई विराट गोल्डकप फुटबल प्रतियोगिता आयोजना गर्ने जिम्मेवारी दिएका छन् ।