- ब्रह्ममदेव यादव, विराटनगर ४५४ पटक हेरिएको
सोमबार, माघ २१, २०८१ समय : १५:४३:५२ , २ दिन अगाडि
वरिष्ठ उद्योगी राजेन्द्र राउत अध्यक्ष रहेको नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समिति भवनको सोमबार शिलान्यास भएको छ । विराटनगर महानगरपालिका सँग सिमाना जोडिएको बुढिगंगा गाउँपालिकाको वडा नं. २ स्थित टंकिसिनवारी चौकको १ किलोमिटर पश्चिमको दुरीमा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समिति भवनको शिलान्यास भएको हो ।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष हेमराज ढकाल, महासंघका पूर्व केन्द्रीय अध्यक्ष चण्डिराज ढकाल र महासंघको कोशी प्रदेश अध्यक्ष राजेन्द्र राउतले भूमिपुजन गरेर भवनको शिलान्यास गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका कार्यसमिति सदस्य एवं राजश्व परामर्श समितिका सभापति देवकिनन्दन अग्रवाल भूमिपुजन कार्यक्रममा सहभागि थिए ।
२ कठ्ठा क्षेत्रफलमा ४ करोड भन्दा बढी रुपैयाँको लागतमा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको अढाई तल्ले भवन निर्माण हुन लागेको हो ।
जुन भवन निर्माणका लागि अध्यक्ष राजेन्द्र राउतले सोमबार भवन शिलान्यास समारोहमा महासंघ कोशी प्रदेश समितिको सचिवालयका कार्यकारी निर्देशक राधारमण भण्डारी (श्याम) लाई २१ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिको ७औँ प्रदेश सभा एवं भवन शिलान्यास समारोहमा उद्योग, व्यवसायीहरूले भवन निर्माणका लागि ९० लाख रुपैयाँ सहयोग गरेका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिका अध्यक्ष उद्योगी राजेन्द्र राउतले ३ बर्षे कार्यकाल मध्ये २ बर्षे कार्यकाल सकिसकेको र बाँकी रहेको १ बर्षको कार्यकालमा महासंघको भवनको निर्माण गर्ने कार्य पुरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
समारोहमा सहभागि विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराल र बुढीगंगा गाउँपालिकाका अध्यक्ष जीतनारायण थापा मगरले नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिको भवन निर्माणका लागि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।