विराट एक्स्पोमा आर्थिक बहस

  • ब्रह्मदेव यादव, विराटनगर ४३९  पटक हेरिएको

बुधबार, माघ १६, २०८१ समय : १६:४७:४२ , ५ दिन अगाडि

उद्योग संगठन मोरङले विराटनगरमा आयोजना गरेको विराट एक्स्पो २०२५ मा बुधबार गरमागरम आर्थिक बहस भएको छ । कोशी प्रदेश भारत, बंगलादेश र चिन सँग सिमाना जोडिएको प्रदेश हो । खुल्ला सिमानाका कारण कोशी प्रदेशको व्यापारमा परिरहेको कठिनाइ र त्यसको उपाय खोज्ने उद्देश्यका साथ विराट एक्स्पो स्थलमै आर्थिक बहस चलाइएको उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले बताए ।

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिका अध्यक्ष एवं उद्योगी राजेन्द्र राउत, नेपालका लागि बंगलादेशका राजदुत मो. हुमाइन कबिर, पत्रकार कनकमणी दिक्षित, मानव अधिकार कर्मी सुशिल प्याकुरेल र नेपाल सरकारका पूर्व भन्सार प्रशासक एवं अन्तर्राष्ट्रिय व्यापार विज्ञ श्याम दाहाल आर्थिक बहसमा सहभागि थिए ।

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिका अध्यक्ष एवं उद्योगी राजेन्द्र राउतले कोशी प्रदेश पर्यटनको सम्भावना बोकेको प्रदेश हो । बंगलादेश र भारतबाट मात्रै पर्यटक कोशी प्रदेश भित्र्याउन सक्यो भने प्रदेश आर्थिक रूपमा आत्मनिर्भर हुने बताए । नेपाल सरकारका पूर्व भन्सार प्रशासक एवं अन्तर्राष्ट्रिय व्यापार विज्ञ श्याम दाहालले खुल्ला सिमानाका कारण चोरी तस्करीको माध्यमबाट अवैध कारोबारले प्रशय पाउँदा कोशी प्रदेशको उद्योग व्यापार अगाडि बढ्न नसेकेको बताए ।

खुल्ला सिमानाका कारण कोशी प्रदेशको उद्योग व्यापारमा परिरहेको असर र त्यसको उपाय खोज्ने बारेमा आर्थिक बहसमा सहभागी अर्थविद्धहरूले समूहगत रूपमा छलफल गरेका थिए । अन्तर्राष्ट्रिय पारवाहन सन्धि बमोजिम भारतसँग मात्रै सबै नाकाबाट व्यापार भइरहेको छ । चिन र बङ्गलादेशसँग सन्धि सम्झौता अनुसार सबै नाकाबाट आयात निर्यात हुन नसकिरहेको बारेमा सरकारले पहल गर्नुपर्ने बहसमा कुरा उठेको छ ।

चिनिया कम्पनीले नेपालको विद्युत् उत्पादनमा मोटो रकम लगानी गरिरहेका छन् । तर नेपालमा उत्पादित विद्युत् भारतसँग विक्री गर्न नपाउने जस्ता प्रावधानका कारण आगामी दिनमा नेपालको लगानी खेर जाने भएकोले त्यस तर्फ अर्थविद्धहरूले सरकारको ध्यान जान जरुरी रहेको विषय जोडदार रूपमा उठान गरेका छन् । उद्योग संगठन मोरङका कार्यसमिति सदस्य दिपक अग्रवालले खुल्ला सिमानाका कारण कोशी प्रदेशको व्यापारमा परिरहेको कठिनाइ र सौरव सारडाले विद्युतमा चिनिया लगानीको कारण आगामी दिनमा पर्ने असर बारे आ–आफ्ना धारण राखेका थिए ।

उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले आर्थिक बहसबाट आएको सुझावलाई प्रतिवेदन बनाएर सरकारलाई बुझाउने बताए । उद्योग संगठन मोरङका निवर्तमान अध्यक्ष सुयश प्याकुरेल, वरिष्ठ उपाध्यक्ष नन्दकिशोर राठी, उपाध्यक्ष एवं विराट एक्स्पो संयोजक भोलेश्वर दुलाल, उपाध्यक्ष राजकुमार गोल्छा, विपिन काबरा, कोषाध्यक्ष सुबोध कोइराला सहित कार्यसमितिका सदस्यहरू आर्थिक बहसमा सहभागी थिए । कोशी प्रदेशका उद्योगी व्यवसायी आर्थिक बहसमा सहभागिता जनाएका थिए ।उद्योग संगठन मोरङले माघ १२ देखि २० गतेसम्म विराटनगर–१४ स्थित डिग्री क्याम्पसको मैदानमा विराट एक्स्पो २०२५ को आयोजना गरेका छन् ।