“महिलालाई आत्मनिर्भर बनाउन श्री उत्सव महोत्सव”

  • ब्रह्मदेव यादव, विराटनगर ५५०  पटक हेरिएको

आइतबार, पुष २८, २०८१ समय : १८:१३:४९ , ३ हप्ता अगाडि

तेरापंथ महिला मण्डल विराटनगरले शनिवार विराटनगरमा श्री उत्सव महोत्सवको आयोजना गर्‍यो । विराटनगर महानगरपालिकाका उपमेयर शिल्पा निराला कार्कीले श्री उत्सव महोत्सवको उद्घाटन गरेका थिए ।

महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यका साथ श्री उत्सव महोत्सवको आयोजना गरिएको तेरापंथ महिला मण्डल विराटनगरका अध्यक्ष सन्तोष जैनले बताइन ।

तेरापंथ महिला मण्डल विराटनगर र तेरापंथ कन्या मण्डल विराटनगरले संयुक्त रूपमा शनिवार विराटनगर स्थित जैन स्वेताम्बर तेरापंथ भवनमा आयोजना गरेको श्री उत्सव महोत्सवमा महिला उद्यमीद्वारा उत्पादन गरिएको औद्योगिक सामाग्रीलाई पहिलो प्राथमिकता दिइएको थियो ।

श्री उत्सव महोत्सवमा महिला उद्यमी सहित अन्य उद्योगबाट उत्पादित सामग्री ३२ वटा स्टलबाट बिक्री गरिएको थियो । शनिवार बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म आयोजना गरिएको श्री उत्सव महोत्सवमा विराटनगरका मारवाडीदेखि गैर मारवाडी समुदायले महिला उद्यमीको स्टलबाट सामान खरिद गरेका थिए ।

महिला उद्यमीले खानाको स्टल मार्फत विभिन्न परिकारको सामग्री बनाएर बिक्री गरेका थिए । तेरापंथ महिला मण्डल विराटनगरले समाज परिवर्तनको क्षेत्रमा गरिरहेको गतिविधिलाई एउटा स्टलबाट सार्वजनिक गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि विराटनगर महानगरपालिकाका उपमेयर शिल्पा निराला कार्की, तेरापंथ महिला मण्डल विराटनगरका अध्यक्ष सन्तोष जैन, मन्त्री उषा लुनिया, कार्यक्रम संयोजिका चेतना दुगड र प्रथम उपाध्यक्ष मिलन नौलखाले विज्ञापन दातादेखि महिला उद्यमीलाई सम्मान गर्दै प्रमाणपत्र वितरण गरेका थिए ।