- चिरफार डटकम, विराटनगर ३०९ पटक हेरिएको
मंगलबार, पुष १६, २०८१ समय : १७:०४:१८ , ५ दिन अगाडि
मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष नमोनारायण माझीले अब काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ जस्तै सबै कामको प्रत्यक्ष प्रशारण गर्ने घोषणा गरेका छन् ।
प्रमुख प्रशासकीय अधिकृत रामराज पौडेल सँग विवाद उत्पन्न भएपछि मंगलबार विराटनगरमा पत्रकार सम्मेलन गरेर अध्यक्ष माझीले अब ग्रामथान गाउँपालिका बैठकको निर्णय प्रत्यक्ष प्रशारण गर्ने बताए ।
ग्रामथान गाउँपालिकाको उपनिर्वाचनमा नेकपा माओवादी केन्द्रबाट सान्दार विजय प्राप्त गरेका माझी काठमाडौँमा रहेको बेला उनी सँग कुनै सरसल्लाह नै नगरीकन प्रमुख प्रशासकीय अधिकृत पौडेलले अवैध माटो उत्खनन रोक्न झोराहाट प्रहरी कार्यालयलाई पत्र पठाएका थिए ।
मलाई नसोधीकन किन पत्र काटेको भन्दै अध्यक्ष माझीले प्रमुख प्रशासकीय अधिकृत पौडेललाई स्पष्टीकरण दिन पत्र पठाएका थिए । स्पष्टीकरणको चित्तबुझ्दो जवाफ नआएको खण्डमा प्रमुख प्रशासकीय अधिकृत पौडेललाई कारबाही गर्ने अध्यक्ष माझीले बताए ।
पत्रकार सम्मेलनमा अध्यक्ष माझीले भने: म अवैध उत्खनन रोक्ने पक्षमा छु । तर म काम विशेषले काठमाडौँमा रहेको बेला मलाई नसोधीकन प्रमुख प्रशासकीय अधिकृत पौडेलले अवैध उत्खनन रोक्ने नाउँमा तानाशाहीरवैया अविलम्ब गरेर काटेको पत्रप्रति खेद व्यक्त गर्दछु ।