- चिरफार डटकम, विराटनगर ६२४ पटक हेरिएको
मंगलबार, पुष ०९, २०८१ समय : १५:२९:५८ , ३ दिन अगाडि
पछिल्लो समय विराटनगर भन्सार कार्यालयमा आर्थिक चलखेल भइरहेको समाचार बाहिरिएको छ । विराटनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत ज्ञानेन्द्रराज ढकालको टिम आर्थिक चलखेलमा सक्रिय रहेको भन्सार निकट समाचार सूत्रले जानकारी गराएको छ ।
प्रमुख भन्सार अधिकृत ढकालले ४ महिना अगाडि सरुवा भएका नायव सुब्बा यादवराज श्रेष्ठलाई मूल्याङ्कन शाखाको जिम्मेवारी सुम्पिएर विराटनगर भन्सार कार्यालयमा लुटतन्त्र मच्चाएको समाचार सूत्रको दाबी छ । प्रमुख भन्सार अधिकृत ढकालको २ वर्षे कार्यकाल फागुनमा सकिन लागेकोले विराटनगर भन्सार कार्यालय छोड्ने बेलामा उनले आफ्नो टिमलाई सक्रिय बनाएर अर्थ आर्जनमा जुटेका छन् ।
विराटनगर भन्सार कार्यालयबाट साफटा सुविधाको कपडा आयात गरिरहेको भन्सार सहयोगी संजित भगतको कपडा जाँच पास भएको दिन भन्सार प्रशासनले भगतसँग मोटो रकम असुली गर्ने गरेको समाचार सूत्रको दाबी छ । सफटा सुविधामा नपरेको महंगो मूल्यको कपडालाई पनि सफटा सुविधामै राखेर जाँच पास गरिदिँदा सरकारको मोटो रकम राजश्व चुहावट हुने गरेका छन् ।
३ पटक सरुवा मागेर विराटनगर भन्सार कार्यालय आइपुगेका नायब सुब्बा प्रभुनारायण मेहता भन्सार प्रमुख ढकालको टिममा परेका छन् । र उनले सामान जाँच पास गर्ने बेलामा उद्योगी व्यवसायी र भन्सार एजेन्टहरू सँग सिधै मोलतोल गरेर रकम असुली गरिरहेको समाचार सूत्रको दाबी छ । यस विषयमा विराटनगर भन्सार प्रशासन कुनै प्रतिक्रिया दिन मान्दैन ।