- ब्रह्मदेव यादव, विराटनगर ३३८ पटक हेरिएको
शुक्रबार, पुष ०५, २०८१ समय : १४:२९:१२ , २ दिन अगाडि
मोरङको रंगेली नगरपालिकामा १८ लाख रुपैयाँ बराबरको सामान चोरी भएको छ । तर चोरी घटनामा प्रहरी अनुसन्धान फितलो छ । रंगेली नगरपालिका–५, आमगाछीका बैजनाथ पण्डितको घरमा मंसिर ९ गते आइतबार राती १८ लाख रुपैयाँ बराबरको सुन, चाँदी सहितका सामानहरू चोरी भएको छ ।
राती पण्डित श्रीमती सँग घरमा सुतीरहेको बेला बाहिरबाट ढोकामा चुक्कुल लगाएर चोरले सुन र चाँदीका गहना चोरी गरेका थिए । पण्डितको घरमा चोरी भएको राती १ बजेदेखि ३ः३० बजेसम्म स्थानीय दिलिपकुमार मण्डलले आफ्नो मोबाइलबाट कुनै एक व्यक्तिको मोबाइल नम्बरमा ९ पटकसम्म फोन गरेको रेकर्ड रंगेली प्रहरीसँग छ । तर राजनैतिक दबाबका कारण रंगेली प्रहरी चोरीको घटनालाई अनुसन्धान प्रक्रियामा लान आनाकानी गरिरहेका छन् ।
पण्डित पक्षको उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय रंगेलीका प्रमुख प्रहरी निरीक्षक सन्तोष खड्का अदालतबाट दिलिपकुमार मण्डलको मोबाइल कल डिटेलको आधारमा चोरीको अनुसन्धान गर्न स्वीकृति लिएको छ । तर राजनैतिक दबाबका कारण अनुसन्धान प्रक्रिया अगाडि बढाउन आनाकानी गरिरहेको पीडित पक्ष पण्डित परिवारले शुक्रवार विराटनगरमा पात्रकार सम्मेलन गरेर प्रहरी माथि यस्तो आरोप लगाएको छ । यस विषयमा जानकारी लिन प्रहरी निरीक्षक खड्का सँग पटक–पटक सम्पर्क गर्ने प्रयास गर्दा पनि सम्पर्क हुन सकेन ।
पीडित पक्ष बैजनाथ पण्डितले रंगेली प्रहरीमा दिएको उजुरी अनुसार नाकको फुली १ थान, कानको झुम्का ४ जोर, कानको टप ३ जोर, कानको बाली २ जोर, मान टिका १ थान, मंगलसुत्र ३ थान, औँठी ६ थान, सिक्री १ थान, चक्ति २ थान, कानको कुण्डल २ जोर गरी जम्मा ८ तोला बराबरको सुनको गहना र पाउजु ८ जोर, सिक्री ९ थान, बाला ४ जोर, चम्चा ४ थान, लोटा २ थान, बटुका ३ थान, बिच्छी ६ जोर, छाडा २ जोर, कम्मरबंध २ थान, पुरानो चाँदीको सामानहरू ३५ तोला गरी जम्मा १ सय ६० तोला चाँदीका गहना चोरी भएको विवरण उल्लेख गरिएको छ ।