लगानी सम्मेलन र विराट एक्स्पोलाई राजेन्द्र राउतको समर्थन

  • ब्रह्मदेव यादव, विराटनगर ५१५  पटक हेरिएको

बिहिबार, मंसिर २०, २०८१ समय : १८:१४:४१ , ३ हप्ता अगाडि

विराटनगरमा आयोजना हुन लागेको प्रदेश लगानी सम्मेलन र विराट एक्स्पोलाई नेपाल उद्योग वाणिज्य महासंघ (एफ.एन.सी.सी.आई.) कोशी प्रदेश समितिले समर्थन गरेको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारले २०८१ माघ ११ देखि १३ गतेसम्म र उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुराना नेतृत्वको टिमले २०८१ माघ ११ देखि २० गतेसम्म विराटनगरमा आयोजना गर्न लागेको विराट एक्स्पोलाई नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिका अध्यक्ष राजेन्द्र राउतले समर्थन गर्दै सहभागिता जनाउने निर्णय गरेको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिका अध्यक्ष राजेन्द्र राउतले बुधबार विज्ञप्ती जारी गरेर कोशी प्रदेश सरकारको लगानी सम्मेलन र उद्योग संगठन मोरङको विराट एक्स्पोलाई भव्य रुपमा सफल बनाउन जोड तोडका साथ लाग्ने धारणा सार्वजनिक गरेका छन् ।

उद्योग संगठन मोरङले २०८१ माघ ११ देखि २० गतेसम्म विराटनगर महानगरपालिकाको वडा नं. १४ जतुवास्थित डिग्री क्याम्पसको मैदानमा आयोजना गर्न लागेको विराट एक्स्पो स्थलमा नै कोशी प्रदेश सरकारले २०८१ माघ ११, १२ र १३ गते प्रदेश स्तरीय लगानी सम्मेलनको आयोजना गर्ने गरेको तयारीप्रति निजी क्षेत्र नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समिति सहकार्य गर्दै भव्य रुपमा सफल बनाउने प्रतिबद्धता व्यक्त गर्दछ : अध्यक्ष राउतद्वारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख गरिएको छ ।

नेपाल परिसंघ कोशी प्रदेश समितिका अध्यक्ष पवनकुमार सारडाले प्रदेश लगानी सम्मेलन र विराट एक्स्पोप्रति खुलेर असहमति जनाएको छ । नेपाल उद्योग परिसंघ कोशी प्रदेश समिति र उद्यो संगठन मोरङ बिच एक्स्पो आयोजना गर्ने भएको सहमति विपरित उद्योग संगठन मोरङले प्रदेश लगानी सम्मेलनकै मितिमा आयोजना गर्न लागेको विराट एक्स्पोप्रति असहमती जनाउँदै नेपाल उद्योग परिसंघ कोशी प्रदेश समिति लगानी सम्मेलन र विराट एक्स्पोबाट बाहिरीएको छ ।

लगानी सम्मेलन र विराट एक्स्पोबारे कोशी प्रदेश सरकार, उद्योग संगठन मोरङ र नेपाल उद्योग परिसंघ कोशी बिच द्वन्द चलिरहेको बेला नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिका अध्यक्ष राजेन्द्र राउतको इन्ट्री भएको छ ।