- ब्रह्मदेव यादव, विराटनगर ४३३ पटक हेरिएको
मंगलबार, मंसिर १८, २०८१ समय : १६:३४:४४ , १ दिन अगाडि
नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. शेखर कोइराला गुटको भेला विराटनगरमा सुरु भएको छ । मंगलबारदेखि विराटनगरबाट सुरु भएको डा. कोइराला गुटको भेला बुधबार मोरङको बेलबारीमा सम्पन्न हुनेछ । डा. कोइरालाले दुई दिने गुटगत भेलाको मंगलबार उद्घाटन गरेका छन् ।
विराटनगर स्थित जैन भवनमा आयोजित डा. कोइराला गुटको भेलालाई कांग्रेसको संस्थापन पक्ष पार्टी सभापति शेरबहादुर देउवा गुटले बहिस्कार गरेका छन् । र डा. कोइराला गुटको विराटनगर भेलालाई संस्थापन पक्षले विज्ञप्ति जारी गरेर अवैध भनेका छन् । कांग्रेस केन्द्रिय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले सोमबार कोशी प्रदेश समितिलाई पत्र पठाएर डा. कोइराला गुटको भेलामा सहभागि नजनाउन नेता कार्यकर्ताहरूलाई उद्रि नै जारी गरेका थिए ।
डा. कोइराला गुटले २०८२ मा हुन लागेको नेपाली कांग्रेसको १५ औं राष्ट्रिय महाधिवेशनलाई लक्षित गरेर विराटनगरबाट गुटगत भेला शुभारम्भ गरेका छन् । डा. कोइराला गुटले विराटनगर भेलालाई नेपाली कांग्रेसको कोशी प्रदेश स्तरीय पालिका सभापतिको भेला नाम दिएका छन् । र कांग्रेसको संस्थापन पक्ष पार्टी सभापति देउवा गुटले मंसिर १८ र १९ गते विराटनगरमा पार्टीको कुनै भेला र प्रशिक्षण कार्यक्रम नरहेको स्पष्ट पारेका छन् ।
कांग्रेसको संस्थापन पक्षले मंसिर २२ गते विराटनगरमा कोशी प्रदेश स्तरीय सम्मेलनको आयोजना गर्दैछ । डा. कोइराला गुटको विराटनगरमा सुरु भएको भेलामा डा. शेखर कोइराला, डा. मिनेन्द्र रिजाल, संघिय सांसद सुनिल शर्मा, कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्की, कोशी प्रदेश महामन्त्री उमेश थापा, विराटनगर महानगरपालिकाका मेयर एवं नेपाली कांग्रेस मोरङका उपसभापति नागेश कोइराला, नेपाली कांग्रेस मोरङका सभापति एवं संघिय सांसद डिगबहादुर लिम्बु, नेपाली कांग्रेस मोरङका उपसभापति भक्तिनाथ माझी सहभागि थिए ।
मोरङबाट कांग्रेसको राजनीति गर्ने केन्द्रिय सदस्य अमृत अर्याल र भीम पराजुली नेपाली कांग्रेस मोरङ क्षेत्र नं. ४ का सभापति विनोद बस्नेत, विश्वनाथ रिजाल, कोइराला गुटको मञ्चमा देखिएन । कांग्रेस कोशी प्रदेश सभापति उद्धव थापा, उपसभापति रमेशजंग रायमाझी, कोशी प्रदेश महामन्त्री एवं कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास र स्वास्थ्य मन्त्री भुपेन्द्र राई कोइराला गुटगत भेलाको मञ्चमा देखिएन ।
नेपाली कांग्रेस विराटनगर महानगर समितिका सभापति दिपक चापागाईंले नेपाली कांग्रेसलाई बलियो बनाउने उद्देश्यका साथ भेलाको आयोजना गरिएको बताए । कांग्रेसलाई बलियो बनाउने अभियानमा लागेका डा. कोइरालालाई असहयोग गरेर पार्टी सभापति देउवा लागिपरेको आरोप लगाए । कांग्रेस भित्र नेतृत्व परिवर्तन आवश्यक रहेको बताउँदै चापागाईंले पार्टीको आगामी १५औं राष्ट्रिय महाधिवेशन मार्फत डा. कोइरालालाई सभापति बनाउने पर्ने आजको आवश्यकता रहेको बताए ।