- ब्रह्मदेव यादव, विराटनगर २९६ पटक हेरिएको
बुधबार, मंसिर १२, २०८१ समय : १८:३८:३२ , ६ घन्टा अगाडि
विराटनगरमा दुई बेग्ला बेग्लै भव्य समारोहको आयोजना हुनगई रहेको छ । २०८१ माघ ११ गतेदेखि विराटनगरमा हुने तय भएको अन्तर्राष्ट्रिय लगानी सम्मेलन र विराट एक्स्पो बारे निजी क्षेत्र उद्योग संगठन मोरङ र नेपाल उद्योग परिसंघ कोशी प्रदेश समिति विराटनगर दुई चिरामा विभाजित भएका छन् ।
उद्योग संगठन मोरङ र नेपाल उद्योग परिसंघ कोशी प्रदेश समितिले आयोजना गर्ने मिति तय गरेको विराट एक्स्पो र औद्योगिक कृषि प्रदर्शनीको मिति सरेको छ । उद्योग संगठन मोरङले २०८१ पुस ७ देखि १५ गतेसम्म र नेपाल उद्योग परिसंघ कोशी प्रदेश समिति विराटगनरले २०८१ माघमा औद्योगिक कृषि प्रर्दशनीको आयोजना गर्ने सहमतिमा मिति तय गरेको थियो । तर उद्योग संगठन मोरङले सहमती विपरित विराट एक्स्पोको मिति परिर्वतन गरेपछि नेपाल उद्योग परिसंघ कोशी प्रदेश समिति उद्योग संगठन मोरङ सँग चिढिएको छ । र आगामी दिनमा कुनै पनि किसिमको सहमतीमा एक्स्पो अर्थात औद्योगिक कृषि प्रदर्शनी नगर्ने सहमती तोडेको निजी क्षेत्र निकट समाचार स्रोतले जानकारी गराएको छ ।
उद्योग संगठन मोरङले २०८१ पुस ७ गतेदेखि १५ गतेसम्म विराटनगरको डिग्री क्याम्पसको मैदानमा आयोजना गर्ने तय गरिएको विराट एक्स्पोको मिति सारेको छ । संगठनले अब २०८१ माघ ११ देखि २० गतेसम्म विराट एक्स्पोको आयोजना गर्ने नयाँ मिति तय गरेको छ ।
कोशी प्रदेश सरकारले २०८१ माघ ११, १२ र १३ गते विराटनगरमा अन्तर्राष्ट्रिय स्तरको लगानी सम्मेलनको आयोजना गर्दैछ ।कोशी प्रदेश सरकारले आयोजना गर्न लागेको अन्तर्राष्ट्रि लगानी सम्मेलनको अवधिमा उद्योग संगठन मोरङले विराट एक्स्पोको मिति तोकेकोले नेपाल उद्योग परिसंघ कोशी प्रदेश समिति असन्तुष्ट छ ।
अन्तर्राष्ट्रिय लगानी सम्मेलनको समयमा अन्तर्राष्ट्रिय लगानी कर्तालाई समग्र औद्योगिक क्षेत्रबारे जानकारी गराएर लगानी भित्र्याउनु पर्ने ठाउँमा निजी क्षेत्रको कुनै एक संगठनले एक्स्पोको आयोजना गरेर लगानी सम्मेलनलाई प्रभावित पर्न खोजेको निजी क्षेत्रले नै आरोप लगाएको छ । यस विषयमा निजी क्षेत्र दुई चिरामा विभाजित हुँदा अन्तर्राष्ट्रिय लगानी सम्मेल समेत प्रभावित हुने चर्चा सुरु भएको छ ।