- ... ४२२ पटक हेरिएको
बुधबार, माघ १८, २०७९ समय : १५:१८:५४ , २ वर्ष अगाडि
- ब्रह्मदेव यादव, विराटनगर
नेपाल उद्योग परिसंघको १ नं. प्रादेशिक कार्यालय विराटनगरले विहीबारदेखि विराटनगरमा आयोजना गर्न लागेको १० दिने सीएनआई कोशी एक्स्पोमा नेपाली उत्पादन जुम्लाको मार्सी चामलदेखि बंगलादेशको रेडिमेड कपडा तथा पाकिस्तानको लेदरजन्य सामग्री विक्रीकालागि स्टल निर्माण गरिएको छ ।
विराटनगर–२ स्थित विराट नर्सिङ होम पूर्व शंकरपुरको खाली मैदानमा परिसंघले माघ १९ देखि २८ गतेसम्म सीएनआई कोशी एक्स्पो २०७९ को आयोजना गर्न लागेको छ । एक्स्पोमा नेपाल, भारत, बंगलादेश र पाकिस्तानका ३ सय ७० भन्दा बढि औधोगिक तथा कृषि सामग्री विक्री हुने छ ।
एक्स्पोमा एकै स्थानबाट १०० भन्दा बढि प्रकारको औधोगिक तथा कृषि सामग्री खरीद गर्न सक्ने अवसर समेत १ नं. प्रदेश वासिलाई परिसंघले जुराईदिएको छ । नेपाल उद्योग परिसंघको १ नं. प्रादेशिक कार्यालय विराटनगरका अध्यक्ष तथा उद्योगी भीम घिमिरेको पहलमा परिसंघले विराटनगरमा अन्तर्राष्ट्रिय स्तरको सीएनआई औधोगिक तथा कृषि प्रर्दशनिको आयोजना गर्ने जर्मको गरेको छ ।
३ महिनाभन्दा बढि समयको तयारी पछि बिहीबारदेखि सीएनआई कोशी एक्स्पो सुरु हुँदैछ । अध्यक्ष घिमिरे र उनको टिममा रहेको परिसंघका बोर्डमेम्बरहरुको मेहनत र लगनका कारण परिसंघले भव्य एवं ऐतिहासिक औधोगिक तथा कृषि प्रर्दशनीको आयोजना गरेको हो ।
परिसंघका बोर्डमेम्बर तथा उद्योगी राजेन्द्र राठीलाई कोशी एक्स्पोको संयोजकको जिम्मेवारी सुम्पिएको छ । र राठीले पाएको जिम्मेवारीलाई उच्च मनोबलका साथ पुरा गर्ने काममा जुटेकोले एक्स्पो भव्य एवं ऐतिहासिक हुने अध्यक्ष घिमिरेको ठमयाई छ । विहीबारदेखि विराटनगरमा सुरु हुन गईरहेको एक्स्पोमा नेपाली उत्पादन जुम्लाको मार्सी चालम, दाल, विभिन्न प्रकारको पिठो, कोदो, स्याउ विक्री हुने स्टल राखीएको छ ।
झापाको कृषि उत्पादन अचारदेखि हस्तकलाका सामग्री, इलामको अग्रानिक चिया, तेह्रथुमको ढाकाका सामग्री, भोजपुरको खुकुरी, ब्रमजियाको पेडा, विराटनगरको जुट सामग्री स्टलबाट विक्री हुने छ । यूवा पुस्ताले अत्याधिक रुचाउने वा मनपराउने शरीरमा ट्याटु खोप्ने स्टल पनि एक्स्पोमा राखिएको छ । भारतबाट इन्जिनियरिङ्ग तथा इलेक्ट्रिकका सामाग्री, फिटनेशका सामग्री विक्री हुने स्टल रहेको छ ।
बंगलादेशको रेडिमेड लत्ताकपडा तथा पाकिस्तानको लेदरजन्य सामग्री विक्री हुने स्टल रहेको छ । स्थानिय उत्पादन केएल दुगड समूह, पशुपति खाद्य तेल उद्योग, न्यूटी फुड्स प्रा.लि.ले खाद्यान्य सामग्री विक्री गर्ने छ । एसियन थाइफुड्सको रमपम चाउचाउ, क्वालिटि ग्रुपको टेस्टीटेस्टी लगायत विभिन्न ब्राण्डका विस्कुट र चकलेट विक्री गर्ने छ ।
विहीबार दिउँसो २ बजे नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कोशी एक्स्पो २०७९ को उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।