- ब्रह्मदेव यादव, विराटनगर १५२ पटक हेरिएको
बिहिबार, मंसिर ०६, २०८१ समय : १२:३०:२१ , ६ घन्टा अगाडि
आन्तरिक राजश्व कार्यालय विराटनगरले १३औं राष्ट्रिय कर दिवस एवं कर सप्ताहको अवसरमा आयोजना गरेको खुल्ला कर शिक्षा कार्यक्रमप्रति कर दाताहरूले जिज्ञासा र चासो व्यक्त गरेका छन् । आन्तरिक राजश्व कार्यालय विराटनगरले कर सप्ताहको अवसरमा मंसिर ४, ५ र ६ गते विराटनगर महानगरपालिका सहित मोरङ जिल्लाको विभिन्न स्थानमा खुल्ला कर शिक्षा कार्यक्रम सञ्चालन गरे ।
कम्प्यूटर अधिकृत हरि सेढाइलाई संयोजक बनाएर कार्यालयले खुल्ला कर शिक्षा कार्यक्रम सञ्चालन गरेको र ती कार्यक्रम प्रति करदाताले जिज्ञासा र चासो व्यक्त गरेको प्रमुख कर अधिकृत भुपालराज शाक्यले बताए । आन्तरिक राजश्व विभागले निर्धारण गरेको करको दायरा र तिर्नुपर्ने करको समय सीमाको बारेमा कार्यालयले खुल्ला कर शिक्षा कार्यक्रम मार्फत करदातालाई जानकारी गराउने उद्देश्यका साथ कार्यक्रम सञ्चालन गरिएको प्रमुख कर अधिकृत शाक्यले बताए ।
मंसिर १ गते शनिबारदेखि सुरु भएको १३औं राष्ट्रिय कर दिवस एवं कर सप्ताह कार्यक्रमको मंसिर ७ गते शुक्रबार समापन हुँदैछ । कर सप्ताहको समापन समारोहमा कार्यालयले उत्कृष्ट करदातालाई सम्मान र उत्कृष्ट कर्मचारीलाई पुरस्कृत गर्ने कार्यक्रम रहेको छ ।
प्रमुख कर अधिकृत भुपालराज शाक्यले कर सप्ताहलाई भव्य, सब्य र व्यवस्थित रुपमा सम्पन्न गर्नका लागि कर अधिकृत भवानीप्रसाद दाहाल, प्रदिप कट्टेल र कम्प्यूटर अधिकृत हरि सेढाइलाई विभिन्न जिम्मेवारी प्रत्यायोजन गरेका छन् । साथै अधिकृतहरूले पाएको जिम्मेवारीलाई सफल बनाउन जोडतोडका साथ काम गरिरहेका छन् । कार्यालयले कर सप्ताहको अवधिमा प्रभात फेरी, उद्घाटन समारोह, हाजिरी जवाफ प्रतियोगिता, अन्तरक्रिया र खुल्ला कर शिक्षा कार्यक्रम आयोजना गरेका छन् ।