- ब्रह्मदेव यादव, विराटनगर ३५२ पटक हेरिएको
सोमबार, मंसिर ०३, २०८१ समय : १६:२१:५७ , ३ दिन अगाडि
प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितले २०८१ साल चैत्र १० गते कोशी प्रदेश सभा र मुख्यमन्त्रीको कार्यालय घेराउ गर्ने घोषणा गरेका छन् । संघर्ष समितिले सोमबार विराटनगरमा पत्रकार सम्मेलन गरेर कोशी प्रदेश नामाङ्कन विरुद्ध चैत्र १० गते विराटनगर स्थित कोशी प्रदेश सभा र मुख्यमन्त्रीको कार्यालय घेराउ गर्ने घोषणा गरे । प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिका १२ घटकका नेताहरू पत्रकार सम्मेलनमा सहभागि थिए ।
किरात याक्थुङ चुम्लुङका अध्यक्ष प्रेम यक्तेन, आदिवासी जनजाति महासंघका अध्यक्ष ग्याल्जे शेर्पा, पहिचान सहितको प्रदेश नं. १ पुनः नामाङ्कन अभियान समितिका अध्यक्ष डकेन्द्रसिंह थेगिम, किरात राई यायोक्खाका अध्यक्ष जीवन हाताचो राई, नेपाल शेर्पा संघका महासचिव लाक्पा शेर्पा, पहिचानवादी मोर्चाका सदस्य सचिव गोपाल किराती, नेपाल जनमुक्ति पार्टीका अध्यक्ष केपी पालुङ्वा, संघीय लोकतान्त्रीक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देन “मिराक”, जनता समाजवादी पार्टी नेपाल प्रदेश नं. १ का अध्यक्ष दीपक याक्खा, जनता समाजवादी पार्टी सम्बद्ध किरात राष्ट्रिय समितिका अध्यक्ष रमेश राई, राष्ट्रिय आदिवासी जनजाति महिला महासंघका अध्यक्ष ङीमी शेर्पा र राष्ट्रिय उन्मुक्ति पार्टीका सह-महासचिव पदम अधिकारीद्वारा हस्ताक्षरित प्रेस विज्ञप्ति मार्फत कोशी प्रदेश सभाका ८२ सांसदलाई गल्ती सच्याउन चैत्र १० गतेसम्मको अल्टिमेटम दिएका छन् ।
कोशी प्रदेश सभाका ८२ सांसदलाई कोशी प्रदेश नामाङ्कनको समर्थनमा गरेको हस्ताक्षर फिर्ता लिन चेतावनी दिएका छन् । कोशी प्रदेश नामाङ्कन हुँदा ८२ सांसदले हस्ताक्षर गरेका थिए । ८२ सांसद बाहेक नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, योगेश भट्टराई र महेश बस्नेतलाई हस्ताक्षर फिर्ता गराउन सहयोग गरिदिन सुझाव दिएका छन् । ८२ सांसदले चैत्र १० गते भित्रमा कोशी प्रदेश नामाङ्कनको समर्थनमा गरेको हस्ताक्षर फिर्ता नलिएको खण्डमा उनिहरुलाई कारवाही गर्ने संघर्ष समितिले चेतावनी दिएका छन् ।
संघर्ष समितिले हस्ताक्षर फिर्ता नलिएका सांसद तथा मन्त्रीहरूलाई कार्यक्रममा सहभागि नहुन र भएको खण्डमा हस्तक्षेप गर्ने चेतावनी दिएका छन् । संघर्ष समितिले कोशी प्रदेश नामाङ्कन घोषणा भएको दिन फागुन १७ गते विभिन्न कार्यक्रम गरेर अँध्यारो दिनको रुपमा मनाउने कार्यतालिका सार्वजनिक गरेका छन् । कोशी प्रदेश नाम लेखिएको लेटर प्याड र छाप प्रयोग नगर्न मन्त्रालयदेखि कार्यालय प्रमुखलाई सुझाव दिएका छन् ।
चैत्र १० गते भित्रमा प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिका माग पुरा नभएको खण्डमा थप आन्दोलनको कार्यक्रम घोषणा गर्ने उद्घोष गरेका छन् । चैत्र १० पछि कोशी प्रदेशमा आमहडतालको घोषणा गर्ने विषयमा संघर्ष समिति प्रदेश वासीसँग छलफल गरिरहेको पहिचान सहितको प्रदेश नं. १ नामाङ्कन अभियान समितिका अध्यक्ष डकेन्द्रसिंह थेगिमले बताए । संघर्ष समितिले आइतबार विराटनगरमा विरोध सभाको आयोजना गरेका थिए ।