आन्तरिक राजश्व कार्यालय विराटनगर कर दिवस मनाउँदै

  • ब्रह्मदेव यादव, विराटनगर २८२  पटक हेरिएको

बिहिबार, कार्तिक २९, २०८१ समय : १२:३७:१५ , १ हप्ता अगाडि

“कर प्रणालीको सार–लगानीको आधार” नाराका साथ आन्तरिक राजश्व कार्यालय विराटनगरले १३औं राष्ट्रिय कर दिवस मनाउने तयारी सुरु गरेको छ । मंसिर १ गते शनिबार सुरु हुने १३औं राष्ट्रिय कर दिवसको मंसिर ७ गते शुक्रबार समापन हुनेछ । मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले मंसिर १ गते शनिबार १३औं राष्ट्रिय कर दिवसको शुभारम्भ गर्ने कार्यक्रम तय गरिएको छ ।

आन्तरिक राजश्व कार्यालय विराटनगरले १३औं राष्ट्रिय कर दिवसको अवधिमा विराटनगरको चोक चोकमा खुल्ला सभाको आयोजना गरेर कर शिक्षाको बारेमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ । आन्तरिक राजश्व कार्यालय विराटनगरले कर दिवसको अवसरमा चोक चोकमा पहिलो पटक कर शिक्षाको बारेमा खुल्ला सभाको आयोजना गर्न लागेको हो ।

आन्तरिक राजश्व कार्यालय विराटनगरका प्रमुख कर अधिकृत भुपालराज शाक्यले करदातालाई करको दायरा बारे जानकारी गराउने उद्देश्यका साथ सार्वजनिक ठाउँमा कर शिक्षा कार्यक्रम आयोजना गर्न लागेको बताए । १३औं राष्ट्रिय कर दिवसको अवसरमा आन्तरिक राजश्व कार्यालय विराटनगरले हाजिरी जवाफ प्रतियोगिता, खुल्ला कर शिक्षा कार्यक्रम र करको दायराबारे उद्योगी, व्यवसायी र चार्टर एकाउन्टेन्ट सँग अन्तरक्रिया कार्यक्रम आयोजना गर्नेछ ।

कार्यक्रमलाई भव्य, सव्य एवं व्यवस्थित रुपमा सम्पन्न गर्न कर अधिकृत भवानी दाहाल, प्रदिप कट्टेल र कम्प्युटर अधिकृत हरि सेढाइलाई विभिन्न जिम्मेवारी दिइएको छ । कर दिवसको समापन समारोहमा आन्तरिक राजश्व कार्यालय विराटनगरले उत्कृष्ट करदाता र उत्कृष्ट कर्मचारीलाई सम्मान गर्ने कार्यक्रम रहेको प्रमुख कर अधिकृत शाक्यले बताए ।

आन्तरिक राजश्व कार्यालय विराटनगरले मंसिर १ गते शनिबार कर साताको शुभारम्भ हुन अघि विराटनगरमा कार्यालयका कर्मचारी, उद्योगी, व्यवसायी र चार्टर एकाउन्टेन्टको सहभागितामा प्रभातफेरी कार्यक्रम आयोजना गर्नेछ ।