- चिरफार डटकम, विराटनगर ३२१ पटक हेरिएको
शुक्रबार, कार्तिक ०९, २०८१ समय : १८:४३:२२ , ४ हप्ता अगाडि
नेपाल स्काउट कोशी प्रदेशको आयोजनामा विराटनगरमा ७ दिने एड्भान्स तालिम सम्पन्न भएको छ । कार्तिक ३ गतेदेखि सुरु भएको तालिममा प्रदेशका विभिन्न स्थानीय पालिकाका स्काउटरहरुको सहभागिता रहेको थियो । विराटनगरको सत्यनारायण विद्यालयमा आयोजित ७ दिवसीय तालिममा ३० जना पुरुष र २३ जना महिला गरी ५३ जनाको सहभागिता रहेको विराटनगर स्काउटका प्रमुख आयुक्त नवीन पहाडीले बताउनुभयो ।
विराटनगर स्काउटको व्यवस्थापनमा आयोजित तालिममा महिलातर्फ राष्ट्रिय शैक्षिक पद्धति आयुक्त भुवन सुब्बा र पुरुषतर्फ राष्ट्रिय कार्यकारी समिति सदस्य नवलप्रसाद उपाध्यायले तालिम दिनुभएको हो । समापन कार्यक्रममा नेपाल स्काउट कोशी प्रदेश प्रमुख आयुक्त हेमन्त भण्डारीले कोशी प्रदेश स्काउटलाई देशकै अब्बल बनाउने उद्देश्य रहेको बताउनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै विराटनगरकी उपमेयर तथा स्थानीय स्काउट प्रमुख शिल्पा निराला कार्कीले स्काउटको भूमिका अत्यन्तै ठुलो रहेको उल्लेख गर्नुभयो । उहाँले बालबालिकाहरूको चौतर्फी विकास गर्दै युवाहरूलाई समेत स्वयंमसेवी भावना जागृत गराउने गरी भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो ।
युवाहरूको क्षमता अभिवृद्धि गर्दै नेतृत्व क्षमता विकासमा सहयोगी हुँदै आएको यो संस्थालाई सहयोग गर्न महानगरपालिका सँधै तयार रहेको बताउनुभयो । उपमेयर कार्कीले तालिम लिएकाहरूलाई सिकेका सीप र ज्ञान व्यवहारिक रुपमा कार्यान्वयन गर्न समेत आग्रह गर्नुभयो ।