- ब्रह्मदेव यादव, विराटनगर ३४३ पटक हेरिएको
शुक्रबार, कार्तिक ०९, २०८१ समय : १५:४३:२६ , ४ हप्ता अगाडि
निजी क्षेत्रको दुई संघ संगठनले नेपालीहरूको महान चाड शुभ–दीपावली, नेपाल सम्वत् ११४५ र छठ पर्वको अवसर पारेर शुभकामना आदानप्रदान कार्यक्रम गर्दैछ । नेपाल उद्योग परिसंघको कोशी प्रदेश समितिले कात्तिक ११ गते आइतबार र उद्योग संगठन मोरङले कात्तिक १२ गते सोमबार शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्न लागेको हो । दुवै संघ संगठनले २ हजार ५ सय भन्दा बढि व्यक्तिलाई निम्तो गरेका छन् ।
विभिन्न राजनैतिक दलका पदाधिकारी, संघिय, प्रदेश र स्थानीय तह गरी तीन तहकै सरकारका पदाधिकारी, विराटनगर भन्सार कार्यालय, आन्तरिक राजश्व कार्यालय विराटनगर र राजश्व अनुसन्धान इकाई कार्यालय इटहरी सुनसरीका प्रमुख तीन वटै सुरक्षा निकायका उच्च पदस्थ पदाधिकारी, नेपाल ट्रेड यूनियनका पदाधिकारी र सञ्चारकर्मीहरुलाई शुभकामना आदानप्रदान कार्यक्रममा सहभागि हुन निम्ता गरेका छन् ।
नेपाल उद्योग परिसंघको कोशी प्रदेश समितिका अध्यक्ष पवनकुमार सारडाले चाड पर्वको बेला सबै वर्ग, क्षेत्र तह र तप्काका व्यक्तिहरूसँग शुभकामना आदानप्रदान गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको बताए । कोशी प्रदेश सभाका सभामुख अम्मरबहादुर बिष्टको प्रमुख आतिथ्यतामा परिसंघले आयोजना गर्न लागेको शुभकामना आदानप्रदान कार्यक्रममा १ हजार भन्दा बढि व्यक्तिलाई आमन्त्रणा गरिएको अध्यक्ष सारडाले बताए ।
परिसंघले विराटनगर–२ बरगाछी स्थित सचिवालयमा दिनको ३ देखि ५ बजेसम्म शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्नेछ । उद्योग संगठन मोरङले सोमबार विराटनगर–२ स्थित संगठनकै सचिवालयमा शुभकामना आदानप्रदान कार्यक्रम गर्दैछ ।
संगठनका वरिष्ठ उपाध्यक्ष नन्दकिशोर राठीले १ हजार ५ सय भन्दा बढि व्यक्तिलाई शुभकामना आदानप्रदान कार्यक्रममा सहभागिता जनाउन निम्तो पठाइएको बताए । संगठनले प्रत्येक वर्ष शुभ–दीपावलीको बेला शुभकामना आदानप्रदान कार्यक्रम गर्दै आएको छ । यस वर्षपनि कार्यक्रमलाई निरन्तरता दिइएको संगठनका अध्यक्ष राकेश सुरानाले बताए ।