- चिरफार डटकम, विराटनगर ४७२ पटक हेरिएको
बिहिबार, कार्तिक ०८, २०८१ समय : १६:१०:५० , १ महिना अगाडि
नेपाली कांग्रेसका कोशी प्रदेश सांसद भुपेन्द्र राईलाई दुई मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको छ । कोशी प्रदेशमा प्रमुख दुई राजनैतिक दल नेकपा एमाले र नेपाली कांग्रेस गठबन्धनको सरकार छ ।
नेकपा एमाले कोशी प्रदेश संसदिय दलका नेता हिक्मतकुमार कार्कीले सरकारको नेतृत्व गरिरहेका छन् । मुख्यमन्त्री कार्की नेतृत्वको सरकारमा भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी सम्हाली रहेका राईलाई बिहीबारदेखि स्वास्थ्य मन्त्रालयको जिम्मेवारी थपिएको छ ।
मुख्यमन्त्री कार्कीको सिफारिसमा कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले राईलाई भौतिक पूर्वाधार विकास मन्त्रालय सँगै स्वास्थ्य मन्त्रालय सम्हाल्ने थप जिम्मेवारी प्रदान गरिएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ ।
स्वास्थ्य मन्त्रालय नेपाली कांग्रेसको भागमा परेको र मन्त्रालयमा मन्त्री पठाउने कांग्रेसले ढिलाई गरिरहेको अवस्थामा मुख्यमन्त्री कार्कीले कांग्रेसको तर्फबाट भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी सम्हाली रहेका राईलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पनि थपिदिएको हो ।