- चिरफार डटकम, विराटनगर ४१८ पटक हेरिएको
आइतबार, कार्तिक ०४, २०८१ समय : १७:१७:३१ , १ महिना अगाडि
जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले एक व्यक्तिको हराएको साढे ३ लाख रुपैयाँ बराबरको सुनको गहना सम्बन्धित व्यक्तिलाई जिम्मा लगाएका छन् । विराटनगर–१, पोखरीया बस्ने गणेश श्रेष्ठको आइतबार साढे ३ लाख रुपैयाँ बराबरको सुनको गहना सिटी सफारीमा छोडेका थिए ।
बजारबाट सुनको गहना किनेर घर फर्किने क्रममा श्रेष्ठको सुनको गहना सिटी सफारीमा छुटेका थिए । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख, प्रहरी निरीक्षक राजन लम्सालले सिटी सफारीका चालकसँग समन्वय गरेर सुनको गहना सम्बन्धित व्यक्ति श्रेष्ठलाई जिम्मा लगाएको बताए ।
नेपालीहरूको महान चार्ड पर्व शुभ–दीपावलीको बेला बजारमा सुनको गहनादेखि लत्ताकपडा किनमेल गर्नेको भिड बढेको छ । व्यस्त विराटनगर बजारको ट्राफिक चौकमा श्रेष्ठले सुनको गहना सफारीमा छोडेर हिडेका थिए । त्यसपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले सिटी सफारीका चालकसँग समन्वय गरेर सुनको गहना सम्बन्धित व्यक्तिलाई बुझाइएको हो ।
आइतबार विराटनगर–२ मुनालपथ स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालयमा सम्बन्धित व्यक्तिलाई बोलाएर ट्राफिक प्रमुख लम्सालले सुनको गहना जिम्मा लगाएका थिए । मोरङ ट्राफिकले गरेको यस्तो उदाहरणीय कार्यको चौतफी प्रशंसा भइरहेको छ ।