बाढी पहिरोले दशैं खल्लो 

  • ब्रह्मदेव यादव, विराटनगर ५८३  पटक हेरिएको

बुधबार, आश्विन २३, २०८१ समय : १३:१६:३४ , १ महिना अगाडि

बाढी पहिराेका कारण २०८१ सालको विजया दशमी खल्लो बन्न पुगेको छ । नेपालीहरूको महान चाड पर्व विजया दशमीको मुखमा दैविक प्रकोप बाढी आउदा देशको अर्बौं रकम बराबरको संरचना र कृषिबालीमा क्षती पुगेको छ । असोज १० गते रातीदेखि परेको अविरल वर्षका कारण बाढी र पहिरो आउँदा देशको विभिन्न ठाउँमा ठुलो धनराशीको क्षती भएको हो ।

काठमाडौं, सिन्धुली, काभ्रेपलान्चोक, संखुवासभा, उदयपुर लगायतका जिल्लामा बाढी पहिरोबाट ठुलो धन राशीको क्षती भएको हो । सुनसरी जिल्लामा आएको बाढीका कारण सामान्य क्षती पुगेको छ । संघिय सरकारको कृषि मन्त्रालयले ६ अर्बभन्दा बढि रकम बराबरको कृषिबाली नष्ट भएको तथ्याङ्क सार्वजनिक गरेका छन् । कोशी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले ४ अर्बभन्दा बढि रकम बराबरको संरचना नष्ट र क्षती पुगेको तथ्याङ्क सार्वजनिक गरेका छन् ।

देशमा आएको दैविक प्रकोप बाढी पहिरोका कारण उदार र राहत कार्यमा राज्यको जनशक्ति सहित रकम खर्च गर्नुपर्ने भएकोले विजया दशमी खल्लो बन्न पुगेको हो । राजनैतिक दलदेखि निजी क्षेत्र बाढी पहिरोको लागि राहत र उदार कार्यमा जुटेका छन् । सत्ताघटक नेपाली कांग्रेसले बाढी पहिरो राहत कोषमा ५० लाख रुपैयाँ सहयोग गरेका छन् ।

कोशी प्रदेशको निजी क्षेत्र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष राजेन्द्र राउत, नेपाल उद्योग परिसंघका अध्यक्ष पवन सारडा, मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठी, उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुराना र विराट व्यापार संघका अध्यक्ष अन्सु बंजरा राहत संकलन र वितरण कार्यमा जुटेकोले चाड पर्व खल्लो बन्न पुगेको हो ।

काम विशेषले बाहिर रहेका मानिस असहज राजमार्गका कारण घरसम्म आइपुग्न नसक्दा परिवारका सबै सदस्य एक ठाउँमा बसेर चाड पर्व मनाउन सक्ने अवस्था नरहेकोले विजया दशमी खल्लो बनेको हो । परिवारका सबै सदस्य एकै ठाउँमा भेला हुने अनि किनमेल गर्न बजार निस्कने सोचाइमा रहेका परिवारका सदस्य घरसम्म आइपुग्न नसक्दा घरको पैसा बजारसम्म नपुगेकोले पनि व्यवसायीहरु  निरास हुँदा विजया दशमी झन खल्लो बन्न पुगेको हो । कुल व्यापार ३५ प्रतिशतसम्म झरेको कारण उद्योगी र व्यवासयी झनै निरासको अवस्थाबाट गुज्रीरहेका छन् ।