“२०८२ सालमा कोशी प्रदेशमा १६ लाख पर्यटक भित्र्याउने तयारी सुरु” 

  • ब्रह्मदेव यादव, विराटनगर ५२१  पटक हेरिएको

शुक्रबार, आश्विन ११, २०८१ समय : १६:०५:५१ , ३ महिना अगाडि

कोशी प्रदेश सरकारले २०८२ सालमा १६ लाख पर्यटक भित्र्याउने तयारी सुरु गरेका छन् । कोशी प्रदेश सरकारको मन्त्री परिषद्को बैठकले २०८२ साललाई पर्यटन वर्ष मनाउने कार्यक्रमलाई अनुमोदन गरेका छन् । कोशी प्रदेश सरकारको पर्यटन, वन तथा वातावरण मन्त्रालयले ४५औं विश्व पर्यटन दिवसको अवसरमा शुक्रबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा २०८२ साललाई पर्यटन वर्ष घोषणा गर्दै १६ लाख पर्यटक भित्र्याउन तयारी शुरु भइसकेको जानकारी गराए ।

कोशी प्रदेश सरकारले २०८२ साललाई पर्यटन वर्ष घोषणा गर्नका लागि आर्थिक वर्ष २०८१/०८२ को बजेट मार्फत १० करोड रुपैयाँ विनियोजन गरेका छन् । कोशी प्रदेश सरकारले २०८२ साल बैशाख १ गते तेह्रथुम जिल्लाको लालीगुँरासको राजधानी तीनजुरे मिल्केमा भव्य कार्यक्रमको आयोजना गरेर पर्यटन वर्षको शुभारम्भ गर्ने कार्यक्रम रहेको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पर्यटन वर्ष २०८२ को शुभारम्भ गर्ने कार्यक्रम तय गरिएको छ ।

कार्यक्रममा मुख्यमन्त्री कार्कीले भारतको सिक्किम र बिहार राज्यबाट मात्रै पर्यटकलाई कोशी प्रदेश भित्र्याउन सकेको खण्डमा समृद्ध प्रदेश बन्ने बताए । कोशी प्रदेशका मुख्यमन्त्री कार्की भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राईले पर्यटन वर्षको बेला भारतबाट नेपाल भित्रिने पर्यटकको गाडीमा टाँस्ने सुरक्षा जाँच स्टिकर सार्वजनिक गरेका छन् । यसरी सार्वजनिक गरिएको सुरक्षा जाँच स्टिकर कोशी प्रदेशका प्रहरी प्रमुख डीआइजी चन्द्रकुवेर खापुङलाई हस्तान्तरण गरे ।

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिका अध्यक्ष एवं उद्योगी राजेन्द्र राउतले पर्यटन वर्ष २०८२ लाई भव्य रुपमा सम्पन्न गर्न निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्न कोशी प्रदेश सरकारलाई सुझाव दिए । कोशी प्रदेश सरकारका पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव विशाल घिमिरेले पर्यटन वर्ष २०८२ मा आयोजना हुन गइरहेको पर्यटन वर्षको कार्यक्रममा पर्यटकलाई ८२ पर्यटकीय स्थलको अवलोकन गराउने जानकारी गराए । 

कार्यक्रममा उच्च अदालत विराटनगरका मुख्यन्यायाधीश रमेशराज भण्डारी, कोशी प्रदेशका सभामुख अम्मरबहादुर बिष्ट, कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारी, सामाजिक विकास मन्त्री पाँचकर्ण राईको सहभागिता रहेको थियो ।

कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डल काम विशेषले पोखरा पुगेको र मौसम अनुकुलका कारण कार्यक्रममा उपस्थित हुन नसकेपछि मन्त्री परिषद्को वरियता क्रम अनुसार भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राईले कार्यक्रमको अध्यक्षता गरेका थिए ।