अनलाइन सपिङले जोगबनीको कारोबार खस्कियो

  • ब्रह्मदेव यादव, विराटनगर ६८५  पटक हेरिएको

बिहिबार, आश्विन १०, २०८१ समय : १६:३९:५० , २ महिना अगाडि

अनलाइन सपिङले गर्दा सीमान्त क्षेत्र जोगबनीको कारोबार खस्किएको छ । जोगबनी मात्रै होइन विराटनगर बजारको कारोबार पनि खस्किएको छ । नेपालीहरूको महान चाडपर्व विजया दशमी, शुभ दीपावली र छठको बेला जोगबनी बजारमा प्रत्येक दिन १० करोड भन्दा बढि रुपैयाँ बराबरको लत्ताकपडा र खाद्यान्न सामग्री बिक्री हुने गरेको थियो । तर पछिल्लो समय जोगबनीबाट किनमेल गरेर नेपाल फर्किने गरेका सर्वसाधारण सँग रानी भन्सारमा हुने गरेको कडाइ र बढ्दो अनलाइन सपिङको कारण जोगबनी बजारको कारोबार खस्किदो क्रममा छ ।

देशको राजधानी काठमाडौंमा नाम चलेका हजारौं उद्योगी तथा व्यापारी प्रतिष्ठानले अनलाइन सपिङ मार्फत लत्ताकपडा, जुत्ता चप्पलको बिक्री गरिरहेका छन् । ग्राहकले अनलाइन मार्फत आफूलाई चाहिएको आवश्यक सामानको अर्डर गर्ने, बिक्रेताले घर घरमै सामान पुर्‍याउने परिपाटीको विकास भइरहेकोले अनलाइन सपिङ प्रभावकारी माध्यम बन्न पुगेको छ । पछिल्लो समय युवापुस्ता अनलाइन सपिङ प्रति आकर्षित भइरहेका छन् ।

एक सेटमा तीनवटा लुगा खरिद गर्दा एउटा लुगा फ्रि मा पाइने, बजार मूल्य भन्दा केही सस्तोमा पाइने र यसरी खरिद गरिएको सामान घरसम्म आइपुग्ने भएकोले अनलाइन सपिङको कारोबारमा वृद्धि भइरहेको छ । जोगबनी बजारका अध्यक्ष एवं बालाजी लाइफ स्टाइलका संचालक मन्टु भगतले विजया दशमी, शुभ दीपावली र छठ पर्व सुरु हुनु भन्दा एक महिना अगाडिदेखि जोगबनी बजारमा कम्तिमा ६ देखि १० करोड रुपैयाँ बराबरको कारोबार हुने गरेकोमा अनलाइन सपिङले गर्दा कारोबार खस्किएको बताए ।

चाड पर्वको बेला प्रत्येक दिन काठमाडौंदेखि विराटनगरसम्मका हजारौं सर्वसाधारण किनमेलका लागि जोगबनी पुग्ने गरेका थिए । तर पछिल्लो समय बढ्दो विदेश पलायन, अनलाइन सपिङ र नेपाल भारतको सीमान्त क्षेत्र रानी नाकामा भन्सार कर्मचारीदेखि प्रहरी प्रशासनले भन्सार कटाउने नाममा अनावश्यक रकम असुली गरिरहेकोले अनलाइन सपिङ प्रभावकारी माध्यम बनेको छ ।