संविधान संशोधनबारे प्रचण्ड–उपेन्द्रको एउटै एजेण्डा 

  • ब्रह्मदेव यादव, विराटनगर ३९१  पटक हेरिएको

आइतबार, आश्विन ०६, २०८१ समय : १७:२७:४० , २ महिना अगाडि

प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणाली एजेण्डामा दुई परिवर्तनधारका राजनैतिक दल नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादव एकै ठाउँमा उभिएका छन् ।

नेपाल ट्रेड यूनियन महासंघले असोज ५ गते शनिबार काठमाडौंमा आयोजना गरेको राजनैतिक वैचारिक प्रशिक्षण कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री प्रचण्डले प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणाली अबको एजेण्डा रहेकोले सोही विषयमा केन्द्रित रहेर संविधान संशोधन हुनु पर्ने माग अगाडि सारेका छन् ।

यस अघि जनता समाजवादी पार्टी नेपालले भाद्र १८ गते मंगलबार विराटनगरमा आयोजना गरेको जनता सँग–जनता समाजवादी पार्टी नेपाल अभिमुखीकरण कार्यक्रममा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री यादवले प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणाली अबको एजेण्डा रहेकोले सोही विषयमा केन्द्रित रहेर संविधान संशोधन हुनु पर्ने आवश्यकता रहेकोमा जोड दिएका थिए ।

प्रचण्ड भन्दा एक कदम अगाडि सर्दै यादवले स्थानीय तहको निर्वाचन गैरदलीय आधारमा हुनु पर्ने प्रस्ताव गरेका थिए । पूर्ण समानुपातिक निर्वाचन प्रणाली एजेण्डामा सत्तारुढ दलले सहमति जनाएर अगाडि नबढेको खण्डमा देशमा भीषण रक्तपात पूर्ण आन्दोलन हुनेछ । र त्यही आन्दोलनबाट संविधान संशोधन हुने अवस्था तयार हुँदैछ ।

जनता समाजवादी पार्टी नेपालले ४ महिने संगठन शुद्धिकरण अभियान सञ्चालन सँगसँगै भित्रभित्रै आन्दोलनको तयारी गरिरहेका छन् । नेकपा माओवादी केन्द्र पनि अब प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणाली एजेण्डा लागू गराउन संविधान संशोधन गराउन आन्दोलन गर्नुबाहेक अर्को विकल्प छैन ।

जनयुद्धबाट स्थापित नेकपा माओवादी केन्द्र र मधेश विद्रोहबाट स्थापित जनता समाजवादी पार्टी नेपाल एकै ठाउँमा उभिएर आन्दोलन गर्ने हो भने सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमाले वाध्य भएर संविधान संशोधनको मुद्दामा सहमत हुन सक्छ ।