- ब्रह्मदेव यादव, विराटनगर ५८४ पटक हेरिएको
शुक्रबार, आश्विन ०४, २०८१ समय : १६:००:५१ , २ महिना अगाडि
शनिबार विराटनगरमा डेन्टल चिकित्सकको २४औं वार्षिक राष्ट्रिय सम्मेलन हुँदैछ । नेपाल डेन्टल एसोसिएसनले शुक्रबार विराटनगरमा पत्रकार सम्मेलन गरेर २४औं वार्षिक राष्ट्रिय सम्मेलनबारे जानकारी गराएको हो । नेपाल डेन्टल एसोसिएसनका केन्द्रिय अध्यक्ष प्रणयरत्न शाक्यले मानव शरीरको महत्वपूर्ण अङ्ग दातको उपचारमा ढिलाई नगरौं, समयमै उपचार गरौं भन्ने उद्देश्यका साथ २४औं वार्षिक राष्ट्रिय सम्मेलनको आयोजना गर्न लागेको बताए ।
नेपाल डेन्टल एसोसिएसनको मोरङ शाखाले विराटनगरमा आयोजना गर्न लागेको २४औं वार्षिक राष्ट्रिय सम्मेलनमा ४ सय भन्दा बढि चिकित्सकहरूको सहभागिता रहने छ । नेपाल डेन्टल एसोसिएसन मोरङ शाखाका अध्यक्ष डा. पवन मेहताले शनिबार बिहान विराटनगरको बरगाछी स्थित होटल मनास्लु इनमा राष्ट्रिय सम्मेलनको पहिलो सत्र र साँझपख विराटनगरकै एयरपोर्ट रोड स्थित होटल एसियाटिकमा दोस्रो सत्रको कार्यक्रम सञ्चालन हुने जानकारी गराए ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शनिबार बिहान डेन्टल एसोसिएनको राष्ट्रिय सम्मेलनको उद्घाटनमा गर्ने कार्यक्रम रहेको छ । विराटनगरको राष्ट्रिय सम्मेलनमा सहभागिता जनाएका १६ जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय डेन्टल रोग विशेषज्ञ चिकित्सकहरूले दन्त रोगको उपचार पद्धति र सेवाको बारेमा आफ्ना धारणा सार्वजनिक गर्ने कार्यक्रम रहेको छ ।
देश भरीको विभिन्न डेन्टल अस्पतालमा कार्यरत दन्तरोग विशेषज्ञ चिकित्सकहरूले उपचार सेवामा गरेको प्रगतिबारे राष्ट्रिय सम्मेलनमा कार्यपत्र प्रस्तुत गर्ने र यसरी प्रस्तुत हुने कार्यपत्र माथि छलफल हुने कार्यक्रम रहेको छ । जसका कारण दन्तरोग विशेषज्ञहरूलाई उपचार सेवा प्रवाह गर्न थप बल पुग्ने सम्मेलनको उद्देश्य रहेको छ । राष्ट्रिय सम्मेलनको अघिल्लो दिन शुक्रबार डेन्टल चिकित्सकले तीन बेग्लाबेग्लै कार्यक्रम सञ्चालन गरेका थिए । जसमा ७५ जना डेन्टल चिकित्सकहरूको सहभागिता रहेको थियो ।