कोशी प्रदेशमा थपिए काँग्रेसका चार मन्त्री 

  • ब्रह्मदेव यादव, विराटनगर ५०४  पटक हेरिएको

शुक्रबार, भाद्र २८, २०८१ समय : १२:३७:५४ , २ महिना अगाडि

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेतृत्व गरेको सरकारमा नेपाली कांग्रेसबाट ४ जना मन्त्री सहभागि भएका छन् । जसमा ३ मन्त्री र १ राज्यमन्त्री रहेका छन् । कांग्रेसबाट भुपेन्द्र राई भौतिक पूर्वाधार विकास मन्त्रालय, खगेन सिंह हाङगाम उद्योग, कृषि तथा सहकारी मन्त्रालय, सदानन्द मण्डल पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।

भूमिप्रसाद राजवंशी भौतिक पूर्वाधार विकास मन्त्रालयको राज्यमन्त्रीको जिम्मेवारी पाएका छन् । नेपाली कांग्रेसको संस्थापन पक्ष पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र कृष्णप्रसाद सिटौला समूहको पक्षको भागभण्डामा परेको मन्त्रालयमा मन्त्री पठाएका छन् ।

डा. शेखर कोइराला समूह सरकारमा सहभागि भएका छैनन् । डा. कोइराला नेपाल बाहिर रहेकोले उनको स्वदेश फिर्तापछि मात्रै मन्त्रीको नाम टुङ्गो लाग्ने छ । डा. कोइरालाको भागमा स्वास्थ्य मन्त्रालय परेको छ । जसमा एक मन्त्री र एक राज्यमन्त्री पठाउने तयारी भइरहेको छ ।

कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले शुक्रबार नवनियुक्त ३ मन्त्रीलाई सपथ ग्रहण गराएका छन् । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राज्यमन्त्रीलाई सपथ ग्रहण गराए । कोशी प्रदेशमा मुख्यमन्त्री सहित मन्त्रीको संख्या १० पुगेको छ ।