- चिरफार डटकम, विराटनगर ४४७ पटक हेरिएको
बिहिबार, भाद्र २७, २०८१ समय : १५:१९:४२ , २ महिना अगाडि
मोरङ जिल्लाको कटहरी गाउँपालिकामा बिहीबारदेखि ४ दिने कृषि एक्स्पो सुरु भएको छ । निजी क्षेत्र नेपाल उद्योग वाणिज्य महासंघको कोशी प्रदेश समितिले कृषि एक्स्पोको आयोजना गरेको हो । महासंघले आयोजना गरेको यो कोशी प्रदेशको पहिलो कृषि एक्स्पो हो ।
आइतबारसम्म चल्ने कृषि एक्स्पोमा नेपाल र भारतका गरी १ सय ३० वटा स्टल रहेका छन् । जुम्लाको मार्सी चामलदेखि विभिन्न प्रकारको दाल र स्याउ, झापाको गाउँले अचार र नमुना अचार, पाँचथरको काँकरा र किबीको जुस लगायतका कृषि सामग्री बिक्री भइरहेका छन् ।
नेपाल र भारतका १५ जना कृषि विज्ञहरू कृषि एक्स्पोमा सहभागिता जनाएका छन् । र उनीहरु कृषि उत्पादनका बारेमा किसानसँग संवाद र छलफल गर्नेछ ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रमुख अतिथि र संघिय सरकारका कृषि मन्त्री रामनाथ अधिकारीले विशिष्ट अतिथिको रुपमा कृषि एक्स्पोको उद्घाटन गरेका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिका अध्यक्ष उद्योगी राजेन्द्र राउतले प्रत्येक वर्ष कृषि एक्स्पोलाई निरन्तरता दिने घोषणा गरेका छन् ।