आमरण अनशन स्थलमा पूर्व मुख्यमन्त्री कार्कीको स्वास्थ्य परिक्षण 

  • चिरफार डटकम, विराटनगर ४९४  पटक हेरिएको

बुधबार, भाद्र २६, २०८१ समय : १३:२५:१२ , २ महिना अगाडि

सरकारका विरुद्ध मंगलबारदेखि विराटनगरमा आमरण अनशन थालेका कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीको स्वास्थ्य परिक्षण गरिएको छ । कोशी अस्पतालका ३ सदस्यीय टोली बुधबार बिहान आमरण अनशन स्थल विराटनगरको देवकोटा चौक पुगेर पूर्व मुख्यमन्त्री कार्कीको स्वास्थ्य परिक्षण गरेका छन् ।

कोशी अस्पतालका डा. ऋषिकुमार यादव, पारामेडिक्स प्रविण यादव र कामेश्वर परिहस्तको टोलीले पूर्व मुख्यमन्त्री कार्कीको स्वास्थ्य परिक्षण गरेका छन् । स्वास्थ्य परिक्षण पछि चिरफार डटकम सँग कुरा गर्दै डा. ऋषिकुमार यादवले पूर्व मुख्यमन्त्री कार्कीको स्वास्थ्य अवस्था सामान्य रहेको बताए ।

विकासमा गरिएको भेदभावका विरुद्ध कोशी प्रदेश सभा अगाडि मंगलबारदेखि आमरण अनशन सुरु गरेका पूर्व मुख्यमन्त्री कार्की सहित आन्दोलनकारीलाई मोरङ प्रहरीले मंगलबार राती आमरण अनशन स्थलबाट पक्राउ गरेर नियन्त्रणमा लिएका थिए ।

पूर्व मुख्यमन्त्री कार्कीलाई मोरङको बुढिगंगा गाउँपालिका स्थित घर पुर्‍याएका थिए । पूर्व मुख्यमन्त्री कार्की घरबाट पुनः विराटनगरको देवकोटा चौक पुगेर आमरण अनशनलाई निरन्तरता दिइरहेका छन् । मोरङ प्रहरीको दमन विरुद्ध नेपाली कांग्रेस मोरङका सचिव मोदराज घिमिरे र नेपाली कांग्रेस विराटनगर महानगर समितिका सभापति दिपक चापागाईंले घोर भर्सना गरेका छन् ।