“उजुरी दर्ता गराउने व्यक्तिको पहिचान खुल्नु पर्‍यो” 

  • ब्रह्मदेव यादव, विराटनगर ४७८  पटक हेरिएको

आइतबार, भाद्र २३, २०८१ समय : १३:००:१६ , ३ महिना अगाडि

निर्माण उद्योगका विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गराउने व्यक्तिको पहिचान खुल्नु पर्ने निर्माण व्यवसायीले माग गरेका छन् । पछिल्लो सयम निर्माण उद्योगका विरुद्ध गुणस्तरहीन काम गरेर अनियमितता गरेको विषयमा छानविन गर्नुपर्ने माग दावी सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पहिचान नखुल्ने गरी बेनामी उजुरी दर्ता गराउने क्रम बढ्दो छ ।

निर्माण व्यवसायी संघ मोरङ विराटनगरको २७औं वार्षिक साधारण सभामा संघका अध्यक्ष महेशकुमार मिश्रले निर्माण उद्योगलाई बदनाम गराउने गरी पहिचान नखुल्ने गरी बेनामी उजुरी दिने क्रम बढेको र जसका कारण निर्माण व्यवसायीले दुःख पाउने गरेको विषयलाई जोडदार रुपमा उठान गरेका छन् ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की प्रमुख अतिथि रहेको कार्यक्रममा संघका अध्यक्ष मिश्रले भने– सुरुमा विभिन्न व्यक्तिले चन्दा चिठ्ठा वापत सहयोग रकम माग्ने अनि माग गरे बमोजिमको सहयोग रकम नपाएपछि निर्माण उद्योग र निर्माण व्यवसायीलाई बदनाम गराउने गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बेनामी उजुरी दिने व्यक्तिको पहिचान खुल्नु पर्‍यो ।

संघका अध्यक्ष मिश्रले भने– निर्माण उद्योग र निर्माण व्यवसायीले गुणस्तरहीन काम गरेर राज्यलाई ठगेको छ भने कारवाही गर्नु पर्‍यो । हामी दण्डित हुन तयार छौं । तर सरकारी मापदण्डको अधीनमा रहेर बोलकबोल गरेर लिएको ठेक्का सम्झौता अनुसार इमानदारी पूर्वक गुणस्तरीय काम गरेको निर्माण उद्योग र निर्माण व्यवसायीलाई बदनाम गराउने उजुरी कर्ता व्यक्तिलाई दण्डित गर्नुपर्‍यो । यसो भएको खण्डमा गलत क्रियाकलाप गर्ने व्यक्ति निरुत्साहित हुने र राज्यले अपेक्षा गरे बमोजिमको विकास निर्माण कार्य गुणस्तरीय हुने अध्यक्ष मिश्रले बताए ।