- ब्रह्मदेव यादव, विराटनगर ७५४ पटक हेरिएको
शुक्रबार, भाद्र २१, २०८१ समय : १५:११:१० , ३ महिना अगाडि
विराटनगरका कपडा कारोबारी बब्लु अग्रवाल माथि राजश्व अनुसन्धान विभागले अनुसन्धान सुरु गरेको छ । कपडा तस्करीमा संलग्नता र कपडा तस्करीबाट अग्रवालले आयआर्जन गरेको अरबौँ रुपैयाँ सम्पत्तिको बारेमा राजश्व अनुसन्धान विभागले अनुसन्धान गरिरहेको समाचार सूत्रले जानकारी गराएको छ ।
अग्रवालले भाद्र ९ गते आइतबार यति एयरलाइन्सबाट पठाएको तस्करीको कपडा काठमाडौँ विमानस्थलमा राजश्व अनुसन्धान विभागको टोलीले नियन्त्रणमा लिएका थिए । विराटनगरबाट काठमाडौँ पठाएको तस्करीको कपडा काठमाडौँ विमानस्थलबाट राजश्व अनुसन्धान विभागको टोलीले नियन्त्रणमा लिएको १० दिनपछि छानविन प्रक्रिया अगाडि बढाएको हो ।
अग्रवालले प्रत्येक दिन विराटनगरबाट काठमाडौँ उड्ने यति एयरलाइन्सको अन्तिम फ्लाइटबाट १० देखि २० लाख भन्दा बढि रुपैयाँ बराबरको तस्करीको कपडा काठमाडौँ पुर्याएर बिक्री गर्दै आइरहेका थिए । अग्रवालले यति एयरलाइन्सको अन्तिम फ्लाइटमा यात्रु कम भएपनि कर्मचारीलाई मिलाएर यात्रु वापतको रकम दिएर तस्करीको कपडा काठमाडौँ पुर्याउने गरेका थिए । सो सम्बन्धमा पनि राजश्व अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ । विशेष सुराकीले दिएको सूचनाको आधारमा राजश्व अनुसन्धान विभागको टोलीले अग्रवालको तस्करीको कपडा नियन्त्रणमा लिएका थिए ।
कपडा तस्करीबाट अग्रवालले नाता गोताको नाममा अरबौँ रुपैयाँ बराबरको सम्पत्ति जोडेका छन् र ती अवैध सम्पत्तिको बारेमा समेत राजश्व अनुसन्धान विभागले अनुसन्धान गरिरहेको एक अनुसन्धान अधिकारीले बताए । कपडा कारोबारी अग्रवालले पछिल्लो समय १० देखि २० प्रतिशत कपडा भन्सार काटेर ल्याउने गरेका छन् भने ८० देखि ९० प्रतिशत कपडा तस्करीको बाटो हुँदै विराटनगरको गोदामसम्म पुर्याइ रहेको छन् ।
विराटनगरको बरगाछी चौक नजिक कपडा कारोबारी अग्रवालले व्यक्ति विशेषको घर भाडामा लिएर ती घरलाई तस्करीको कपडा राख्ने गोदामको रुपमा प्रयोग गरिरहेका छन् । देशको राजधानी काठमाडौंमा गरिब देखि धनी व्यक्तिहरू बस्ने गरेका छन् । कपडा कारोबारी अग्रवालले धनीदेखि गरिब सम्मले लगाउने सस्तोदेखि महँगो कपडा तस्करीको माध्यमबाट काठमाडौँ पुर्याई रहेका छन् । जसको कारण राज्यले प्राप्त गर्नुपर्ने मोटो रकम राजश्व चुहावट भइरहेका छन् ।