भव्य रुपमा सम्पन्न भयो नारी उत्सव

  • ब्रह्मदेव यादव, विराटनगर ४५६  पटक हेरिएको

सोमबार, भाद्र १७, २०८१ समय : १७:५२:२९ , ३ महिना अगाडि

कोशी प्रदेशको राजधानी विराटनगरमा आयोजना गरिएको नारी उत्सव भव्य रुपमा सम्पन्न भएका छन् । मोरङ उद्योग व्यापार संघको महिला उद्यम समितिले नेपाली महिलाहरूको महान पर्व तीजको अवसरमा नारी उत्सवको आयोजना गरेको थियो ।

विराटनगरको सिटी प्यालेस होटल एण्ड रिसोर्टमा भाद्र १४ देखि १६ गतेसम्म आयोजना गरिएको नारी उत्सवको २५ हजार भन्दा बढि विराटनगरवासीले अवलोकन गरेका छन् । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नारी उत्सवको उद्‌घाटन गरेका थिए । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं कोशी प्रदेश सभाका सदस्य अमृत अर्याल विभिन्न राजनैतिक दलका नेतादेखि उद्योगी व्यवसायीहरूले नारी उत्सवको अवलोकन गरेका थिए ।

नारी उत्सवमा एसी र नन एसी गरी नेपाल र भातका ६० स्टल रहेका थिए । जुन स्टलबाट सोचेभन्दा बढि कारोबार भएकोले महिला उद्यमीहरू उत्साहित भएर घर फर्केका छन् । नारी उत्सवमा राखिएको स्टलबाट लत्ताकपडा, गरगहना, श्रृगारका सामान बिक्री भएका थिए ।

मोरङ उद्योग व्यापार संघ महिला उद्यम समितिका संयोजक महिला उद्यमी श्रृति शर्माले भनिन्– महिलाहरूको सीप दक्षतालाई अभिवृद्धि गराई उद्यमशीलता तथा स्वरोजगार तर्फ प्रेरित गर्दै महिला उद्यमीले उत्पादन गरेका वस्तुको बजारीकरण गर्न नारी उत्सवको मुख्य उद्देश्य रहेको थियो । त्यसमा महिला उद्यम समिति सफल भएको बताइन । मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीको टिमले नारी उत्सवलाई भव्य बनाउन सहयोग गरेका थिए ।