विराटनगरमा तीन दिने नारी उत्सव सुरु

  • ब्रह्मदेव यादव, विराटनगर ५५३  पटक हेरिएको

शुक्रबार, भाद्र १४, २०८१ समय : १५:०४:०५ , ३ महिना अगाडि

शुक्रबारदेखि विराटनगरमा तीन दिने नारी उत्सव सुरु भएको छ । मोरङ उद्योग व्यापार संघको महिला उद्यम समितिले नेपाली महिलाहरूको महान चाडपर्व तीजको अवसरमा विराटनगरको सिटी प्यालेस होटल एण्ड रिसोर्टमा नारी उत्सवको आयोजना गरेका छन् ।

मोरङ उद्योग व्यापार संघको महिला उद्यम समितिका संयोजक महिला उद्यमी श्रृति शर्माले तीज पर्वका लागि चाहिने आवश्यक सामग्री एकै थलोबाट किनमेल गर्न सजिलो होस् भन्ने उद्देश्यका साथ नारी उत्सवको आयोजना गरिएको बताइन ।

सिटी प्यालेस होटल एण्ड रिसोर्टमा आयोजित नारी उत्सवमा एसी र नन एसी गरी ६० स्टल रहेका छन् । जसमध्ये ४० स्टलबाट लत्ताकपडा, कस्मेटिक सामग्री सहित चाँदीका गहना बिक्री भइरहेका छन् । नारी उत्सवमा फुडका १० र कृषिका १० स्टल रहेका छन् ।

महिला उद्यमीहरूले उत्पादन गरेको सामग्री स्टलबाट बिक्री भइरहेका छन् । नारी उत्सव अवलोकनका लागि निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शुक्रबार नारी उत्सवको उद्‌घाटन गरेका छन्  । नारी उत्सवको उद्‌घाटन समारोहमा मिस नेपाल आश्माकुमारी केसी र सुमना केसी सहभागि थिए ।

मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, विराटनगर महानगरपालिकाका उपमेयर शिल्ला निराला कार्की मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीले नारी उत्सवको उद्‌घाटन समारोहमा आ-आफ्ना मन्तव्य व्यक्त गरेका थिए ।