- ब्रह्मदेव यादव, विराटनगर ५४५ पटक हेरिएको
बुधबार, भाद्र ०५, २०८१ समय : १३:४९:१८ , ३ महिना अगाडि
विराटनगरको श्रीराधाकृष्ण रथयात्रा आयोजक समितिले रथयात्राको दिन व्यवसायीक विज्ञापन प्रचार प्रसारमा रोक लगाएको छ । श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट अर्थात भदौं ११ गते मंगलबार विराटनगरमा श्रीराधाकृष्ण रथयात्रा निकालिने तयारी भइरहेको छ ।
रथयात्राको दिन उद्योगी व्यवसायीले आफ्ना उत्पादनको प्रचार प्रसार गर्ने गरेका छन् । रथयात्रा निस्किसकेपछि रथयात्रा टोलीमै ब्यानर राखेर आफ्ना उत्पादनको प्रचार प्रसार गर्ने वर्षौदेखि चलिरहेको परम्परालाई यस पटक रथयात्रा आयोजक समितिले प्रतिबन्ध लगाएको छ ।
श्रीराधाकृष्ण रथयात्रा आयोजक समितिका अध्यक्ष कैलाश रेग्मीको अध्यक्षतामा बुधबार बसेको बैठकले विशुद्ध धार्मिक कार्यक्रममा व्यवसायीक विज्ञापन गर्न नपाउने निर्णय गरेका छन् । साथै रथयात्रा निस्किसकेपछि विराटनगरको सडक पेटीमा पानी र सर्वत खुवाउँदा सकभर उद्योगी व्यवसायी र विभिन्न सामाजिक संघ संस्थाहरुलाई ब्यानर राखेर प्रचार प्रसार नगरिदिन अनुरोध गरेको छ ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भदौं ११ गते मंगलबार श्रीराधाकृष्ण रथयात्राको शुभारम्भ गर्ने कार्यक्रम छ । विराटनगरको श्रीराधाकृष्ण रथयात्रा भारतको जगन्नाथपुरी पछि दक्षिण एसियाकै सबैभन्दा ठुलो रथयात्रा हो । नेपाल र भारतका ५ लाख भन्दा बढि धर्मावलम्बीहरूले श्रीराधाकृष्ण रथयात्राको अवलोकन गर्ने गरेका छन् ।