- ब्रह्मदेव यादव, विराटनगर ११२४ पटक हेरिएको
आइतबार, साउन २७, २०८१ समय : १६:०२:५४ , ३ महिना अगाडि
विराटनगरको गोल्डेन अस्पताल आइतबारदेखि आफ्नै भवनमा सञ्चालनमा आएको छ । विराटनगर महानगरपालिकाको वडा नं. ७ स्थित कोशी अस्पताल अगाडिको अस्पताल चौकमा भाडाको भवनमा सञ्चालनमा रहेको गोल्डेन अस्पताल विराटनगर महानगरपालिकाको वडा नं. ११ स्थित महेन्द्र चौकको पश्चिम तर्फ ४८ करोड रुपैयाँको लागतमा निर्माण भएको आफ्नै ६ तल्ले सुविधा सम्पन्न भवनमा सञ्चालनमा आएको छ ।
गोल्डेन अस्पतालका प्रबन्ध निर्देशक एवं बरिष्ठ फिजिसियन डा. श्यामकुमार रौनियारले अबको केही समयपछि अस्पताल चौक र महेन्द्र चौकको नयाँ भवन गरी दुवै ठाउँबाट बिरामीलाई सेवा प्रवाह गर्ने बताए । र केही समयपछि अस्पताल चौकमा सञ्चालित अस्पताललाई बन्द गरेर महेन्द्र चौक पश्चिम रहेको नयाँ अस्पताल भवनबाट बिरामीलाई उपचार सेवा प्रदान गर्ने बताए ।
गोल्डेन अस्पतालका बोर्ड अफ डाइरेक्टर सनातन मण्डलले ३५ भन्दा बढि विशेषज्ञ डाक्टर कार्यरत रहेको गोल्डेन अस्पतालमा सबै रोगको उपचार सेवा उपलब्ध रहेको बताए । १५ बेडको ओपीडी सेवाबाट सञ्चालनमा आएको गोल्डेन अस्पतालले नयाँ भवनमा अस्पताल सञ्चालनमा ल्याउँदा १ सय बेडको मान्यता प्राप्त गरेका छन् । र महेन्द्र चौकको नयाँ भवनको अस्पतालबाट निम्न आयस्तर भएका बिरामीदेखि हुने खाने बिरामीहरूको एकै थलोबाट उपचार सेवा प्रवाह हुने मण्डलले बताए ।
कोशी प्रदेशका प्रदेश प्रमुख हिक्मतकुमार कार्कीले आइतबार गोल्डेन अस्पतालको उद्घाटन गरेका छन् । सबै राष्ट्रिय राजनैतिक दलका प्रतिनिधि, स्थानीय तहका प्रमुख उपप्रमुख र विभिन्न स्वास्थ्य संस्थाका सञ्चालकहरू गोल्डेन अस्पतालको उद्घाटन समारोहमा सहभागि भएका थिए ।