- ब्रह्मदेव यादव, विराटनगर ७२१ पटक हेरिएको
मंगलबार, साउन २२, २०८१ समय : १५:३९:४१ , ४ महिना अगाडि
विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा ११ हजार विद्यार्थीलाई पानी खुवाउने संरचना निर्माण हुन लागेको छ । विराटनगरको निजी क्षेत्रले ११ हजार विद्यार्थीलाई चिसो तातो पानी खुवाउने संरचना निर्माणका लागि महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस प्रशासन सँग सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका पूर्व विद्यार्थी महेश जाजु, आनन्द जाजु, भीम घिमिरे, पवन सारडा, प्रकाश मुन्दडा, नविन रिजाल, प्रेम प्रसाद भट्टराईले चिसो तातो पानी उपलब्ध हुने स्थानमा नयाँ संरचना निर्माण गर्नेछ ।
क्याम्पसका पूर्व विद्यार्थी प्रेम प्रसाद भट्टराई मोरङका प्रमुख जिल्ला अधिकारी हुन् । र आफूले अध्ययन गरेको क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई चिसो तातो पानी उपलब्ध गराउन नयाँ संरचना निर्माणका लागि अगाडि बढेका छन् । यसरी निर्माण हुने संरचना महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस प्रशासनलाई हस्तान्तरण गरिने छ । क्याम्पस प्रशासन र स्वतन्त्र विद्यार्थी युनियनको आग्रह बमोजिम निजी क्षेत्रले चिसो र तातो पानीका लागि नयाँ संरचना निर्माण गर्न लागेका हुन् ।
क्याम्पसमा नयाँ संरचना निर्माणका लागि पूर्व विद्यार्थी संगठन अल्मुनाइका अध्यक्ष तथा नेपाल उद्योग परिसंघका केन्द्रिय उपाध्यक्ष भीम घिमिरेको अध्यक्षतामा नयाँ संरचना निर्माणका लागि समिति गठन गरिएको छ । नेपाली कांग्रेसका युवा नेता कृष्ण कार्की समितिका बरिष्ठ उपाध्यक्ष र अधिकारकर्मी लिला ढुंगेल समितिका महासचिव रहेका छन् । निजी क्षेत्रको तर्फबाट महेश जाजु, भीम घिमिरे, प्रकाश मुन्दडा, लिला ढुंगेल, क्याम्पस प्रमुख रामअवतार शरण, सहायक क्याम्पस प्रमुख डा. डिल्ली पोखरेल र मोहन सुवेदी, स्वतन्त्र विद्यार्थी युनियनका पूर्व सभापति भीम पराजुली, नेपाली कांग्रेसका युवा नेता कृष्ण कार्की नयाँ संरचना निर्माणका लागि गरिएको सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा डीप बोरिङ, फिल्टर प्लान्ट र स्टोरेज ट्याङ्की निर्माणका लागि सरकार सँग सहयोग लिएर अगाडि बढ्ने अपेक्षा गरेका छन् । नेपाली कांग्रेसका युवा नेता कृष्ण कार्कीले महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस कोशी प्रदेश र नेपालकै ठुलो क्याम्पस भएको र क्याम्पसमा अध्ययनरत ११ हजार भन्दा बढि विद्यार्थीहरूलाई सेवा सुविधा प्रदान गर्ने उद्देश्यका साथ क्याम्पस भित्र रहेको बाटोलाई कोशी प्रदेश सरकारको सहयोगमा कालोपत्रे गर्ने लक्ष्य राखेको बताए । क्याम्पसमा सुविधा सम्पन्न ग्रिनपार्क बनाउने अभियानमा समिति अगाडि बढेको कार्कीले बताए ।