सेटिङै–सेटिङमा ल्याइएको बजेटका विरुद्ध संघर्ष गर्छु– केदार कार्की

  • ब्रह्मदेव यादव, विराटनगर ६२८  पटक हेरिएको

बुधबार, साउन १६, २०८१ समय : १६:२९:५८ , ४ महिना अगाडि

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारले सेटिङै– सेटिङमा ल्याइएको बजेटका विरुद्ध संघर्ष गर्ने पुर्व मुख्यमन्त्री केदार कार्कीले घोषणा गरेका छन् । बुधबार कोशी प्रदेश सभाको मिडिया सेन्टरमा पत्रकार सम्मेलन गरेर नेपाली कांग्रेसको तर्फबाट कोशी प्रदेश सभाको सदस्य एवं पूर्व मुख्यमन्त्री केदार कार्कीले सेटिङै– सेटिङमा मुख्य मन्त्री हिक्मत कार्कीले ल्याएको बजेटका विरुद्ध लोकतान्त्रीक तरिकाबाट सदनदेखि सडकसम्म संघर्ष गर्ने घोषणा गरेका छन् ।

मुख्यमन्त्री हिक्मत कार्कीले सचिवलाई दवाव दिएर पूर्व मुख्यमन्त्री केदार कार्कीको निर्वाचन क्षेत्र केशलिया करिडोरको लागि बजेट कटौती गरेको र १० वर्ष मुनिका बालबालिकाहरूको निःशुल्क उपचारका लागि ल्याइएको कार्यक्रम हटाइएको प्रति आपति जनाउँदै पुर्व मुख्यमन्त्री केदार कार्कीले संघर्ष गर्ने घोषणा गरेका छन् ।

केदार कार्की मुख्यमन्त्री भएको बेला १० वर्ष मुनिका बालबालिकाहरुको लागि निःशुल्क उपचार सेवा, जसको जंगल उसको मंगल “जंगल  मैत्री जंगल”, महिला स्वंयसेविकाका लागि प्रोत्साहन भत्ता कार्यक्रम, केशलिया करिडोर निर्माण, शैलजा आचार्य हृदय केन्द्र स्थापना तथा सञ्चालन, विपन्न विद्यार्थीलाई छात्रवृत्ति कार्यक्रम, सुकुम्बासीलाई जग्गा खरिदमा ब्याज अनुदान र प्रदेशमा सगरमाथा दिवस जस्ता कार्यक्रमलाई मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको सरकारले हटाइएकोले त्यस प्रति घोर आपत्ति जनाएका छन् ।

कोशी प्रदेशमा चिया सम्मेलन गर्नका लागि पूर्व मुख्यमन्त्री केदार कार्कीले १ करोड ६६ लाख रुपैयाँ खर्च हुने इष्टिमेट गरेकोले मुख्यमन्त्री हिक्मत कार्कीले १५ करोड रुपैयाँ विनियोजन गरेकोले बजेटलाई सेटिङै– सेटिङको बजेट उपाधी थमाइएको छ । पूर्व मुख्यमन्त्री केदार कार्कीले पत्रकार सम्मेलनमा भने जनताले तिरेको कर जनतालाई नै फर्काउने गरी जनताको पक्षमा ल्याइएको कार्यक्रमलाई मुख्यमन्त्री हिक्मत कार्कीले कटौती गरेर झापामा पोखरी निर्माणको लागि ४ करोड रुपैयाँ बजेट विनियोजन गरेको र विभिन्न जातीय कुल देवतालाई खुसी पार्ने गरी ती देवीदेवताको नामबाट भवन बनाउन बजेट विनियोजन गरेकोले त्यसका विरुद्ध संघर्ष गर्ने निर्णयमा पुगेको पूर्व मुख्यमन्त्री केदार कार्कीले बताए ।