“जोगबनी नाकामा कडाइ गर्ने कोशी प्रदेश सरकारको तयारी”

  • ब्रह्मदेव यादव, विराटनगर ५३१  पटक हेरिएको

सोमबार, साउन ०७, २०८१ समय : १६:०५:४७ , ४ महिना अगाडि

कोशी प्रदेश सरकारले जोगबनी नाकामा कडाइ गर्ने तयारी थालेका छन् । विराटनगरको निजी क्षेत्रले दिएको सुझाव अनुसार कोशी प्रदेश सरकारले जोगबनी नाकामा कडाइ गर्ने तयारीलाई तिव्रता दिएको हो । कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीको नेतृत्वमा सोमबार नेपाल भारतको अन्तर्राष्ट्रिय सिमानाका जोगबनी नाकाको अवलोकन गरेका छन् ।

कोशी प्रदेश सरकारका सचिव मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई र विराटनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत ज्ञानेन्द्रराज ढकाल टोलीमा सहभागि थिए । नेपालबाट भारत र भारतबाट नेपाल तर्फ हुने गरेको तस्करीको बारेमा मन्त्री अधिकारीले ड्युटीमा खटिएका सुरक्षाकर्मी सँग राय सुझाव लिएका थिए ।

प्रत्येक दिन सीमान्त क्षेत्र भारतको जोगबनी बजारमा करोडौँ रुपैयाँ बराबरको लत्ताकपडा सहित खाद्यान्न सामग्री बिक्री भई रहेका छन् । जोगबनी बजारमा किनमेल गर्न जाने ९९ प्रतिशत ग्राहक नेपाली नै रहेका छन् । मेचीदेखि काठमाडौँ सम्मका व्यक्ति विराटनगर आएको बेला किनमेल गर्न जोगबनी पुग्ने गरेका छन् । पछिल्लो समय विराटनगर भन्सार कार्यालयले जोगबनीबाट १ हजार रुपैयाँको सामान किनेर विराटनगर फर्किने जोकोही सँग अनिवार्य रुपमा भन्सार दस्तुर लिने परिपाटीको विकास गरेका छन् ।

नेपाली ग्राहकलाई नेपालमै कसरी रोक्ने र किनमेल गर्न लगाउने वातावरण बन्न सक्छन भन्ने बारेमा कोशी प्रदेश सरकारसँग कुनै योजना छैन । तर जोगबनी नाकामा कडाइ गर्ने र किनमेल गर्न जोगबनी जाने नेपाली ग्राहकलाई रानी नाकाबाटै नेपाल फर्काउने कोशी प्रदेश सरकारको तयारी छ । विराटनगरको निजी क्षेत्र मोरङ उद्योग व्यापार संग, नेपाल उद्योग परिसंघ कोशी, नेपाल उद्योग वाणिज्य महासंघ कोशी, उद्योग संगठन मोरङ र विराट व्यापार संघले जोगबनी बजार चलायमान हुँदा विराटनगर बजार सुकेकोले सिमा नाकामा कडाइ गर्न तीन तहकै सरकार गुहारेको हो ।

आर्थिक वर्ष २०८१/०८२ को आगमन सँगै कोशी प्रदेश सरकारले जोगबनी नाकामा कडाइ गर्ने निष्कर्ष निकालेका छन् । र अबको केही दिन पछि जोगबनी नाकालाई पूर्णरुपमा कडाइ गर्ने कोशी प्रदेश सरकारको तयारी छ ।