- ब्रह्मदेव यादव, विराटनगर १२८८६ पटक हेरिएको
बिहिबार, साउन ०३, २०८१ समय : १६:१६:५६ , ४ महिना अगाडि
विराटनगर भन्सार कार्यालयले आर्थिक वर्ष २०८०/०८१ मा ३० अर्ब ३४ करोड रुपैयाँ भन्सार राजश्व असुली गरेको छ । प्रमुख भन्सार अधिकृत ज्ञानेन्द्रराज ढकालले आर्थिक वर्ष २०८०/०८१ मा ५० अर्ब ८१ करोड रुपैयाँ भन्सार राजश्व असुली गर्ने लक्ष्य राखेकोमा ३० अर्ब ३४ करोड रुपैयाँ असुली भएको बताए । जुन लक्ष्यको तुलनामा ५९.७१ प्रतिशतले भन्सार राजश्व असुली भएको प्रमुख भन्सार अधिकृत ढकालले बताए । विराटनगर भन्सार कार्यालयले भन्सार महसुल, मूल्य अभिवृद्धि कर (भ्याट) अन्तशुल्क, कृषि सुधार शुल्क, सडक सुधार दस्तुर, अग्रिम आयकर, विलासी कर, हरित कर शीर्षकमा भन्सार राजश्व असुली गर्ने अख्तियारी प्राप्त नेपाल सरकारको राजश्व निकाय हो ।
पछिल्लो समय देशमा देखिएको चरम आर्थिक मन्दीका कारण विराटनगर भन्सार कार्यालयको राजश्व असुली निरन्तर घट्दो क्रममा छ । विराटनगर भन्सार कार्यालयले आर्थिक वर्ष २०७९/०८० मा पनि निराशा जनक रुपमा भन्सार राजश्व असुली गरेका थिए । पछिल्लो समय खाने, लगाउने उमेर समूहका युवा विदेशिए पछि नेपालमा निरन्तर कारोबार घट्दो क्रममा छ । खाने, लगाउने, उमेर समूहका युवा विदेशमा रहेकोले नेपालमा उत्पादित र आयात गरिएको सामान न्यून रुपमा प्रयोग हुने गरेका छन् । जसका कारण व्यापार घट्दा यसको प्रत्यक्ष असर विराटनगर भन्सार कार्यालयको राजश्व असुलीमा परेको छ ।
नेपाल सरकारले आर्थिक वर्ष २०८०/०८१ मा राजश्व असुली गर्न मातहतका निकाय मार्फत १० खर्ब ५८ अर्ब ७९ करोड रुपैयाँ राजश्व असुली गरेको छ । नेपाल सरकारले १४ खर्ब २२ अर्ब रुपैयाँ राजश्व असुली गर्ने लक्ष्य राखेकोमा १० खर्ब ५८ अर्ब ७९ करोड रुपैयाँ मात्रै राजश्व असुली भएको हो । जुन लक्ष्यको तुलनामा ७४.४४ प्रतिशतले राजश्व असुली भएको हो । नेपाल सरकारले आर्थिक वर्ष २०७९/०८० को तुलनामा आर्थिक वर्ष २०८०/०८१ मा १०.६१ प्रतिशतले बढि राजश्व असुली गरेको हो । भन्सार विभागले आर्थिक वर्ष २०८०/०८१ मा लक्ष्यको तुलनामा ६६.६७ प्रतिशतले राजश्व असुली गरेको छन् ।