- ब्रह्ममदेव यादव, विराटनगर २६७९ पटक हेरिएको
शनिबार, आषाढ २९, २०८१ समय : ११:१६:३८ , ४ महिना अगाडि
नेकपा एमाले र नेपाली कांग्रेस गठबन्धन सरकार निर्माणको मुख्य सुत्रधार एमाले केन्द्रिय सदस्य एवं उद्योगी मोती दुगड रहेको रहस्य बाहिरिएको छ । नेपालको राजनैतिकमा मोती दुगड सक्रिय नरहेको भए सायद एमाले–कांग्रेस गठबन्धनको सरकार सम्भव नै थिएन ।
एमाले केन्द्रिय सदस्य एवं उद्योग वाणिज्य तथा आपूर्ति विभाग प्रमुख मोती दुगडले सुरुमा एमाले कांग्रेस गठबन्धनको सरकार बनाउँ भनेर प्रस्ताव गर्दा दुवै पार्टीका शिर्ष नेताहरू मान्न तयार भएनन् । तर पनि हार नखाई दुगड निरन्तर दुवै पार्टीका शिर्ष नेताहरूसँग भेटघाट र सम्वाद गर्दै देशको आर्थिक उन्नति तथा समृद्धिका लागि स्थायी सरकारको आवश्यकता रहेको र जसका लागि ठूला दुई दल मिल्नु पर्ने गरेको प्रयास सफल भएका छन् ।
जसको चौतर्फी प्रशंसा भई रहेको छ । पछिल्लो समय मोती दुगड नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा सहित शिर्ष नेतासँग ठूला दुई दल नमिले देशको आर्थिक समृद्धि र उन्नति सम्भव नरहेको भन्दै देशलाई अगाडि बढाउन ठूला दुई दल मिल्नु पर्ने प्रस्ताव सहित निरन्तर भेटघाट र संवाद जारी राखेका थिए ।
देशका दुई प्रमुख ठूला दल एमाले र कांग्रेसलाई एक ठाउँमा ल्याउन सम्भव थिएन । तर मोती दुगड कै कारण यो ऐतिहासिक काम सम्पन्न भएको छ । दुई ठूला राजनैतिक दल एमाले र कांग्रेसका शिर्ष नेताहरूले पनि मोती दुगडले गरेको प्रयासको खुलेर प्रशंसा गरी रहेका छन् । जसको परिणाम स्वरुप असार २८ गते एमाले–कांग्रेस गठबन्धनको सरकार सम्भव भएको हो । र एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने टुङ्गो लागेको छ ।