विराटनगर भन्सार कार्यालयमा डिजिटल हस्ताक्षर

  • ब्रह्मदेव यादव, विराटनगर ८३३  पटक हेरिएको

सोमबार, आषाढ २४, २०८१ समय : १७:११:३६ , ५ महिना अगाडि

नेपाल सरकारले आर्थिक वर्ष २०८१/०८२ को साउनदेखि विराटनगर भन्सार कार्यालयमा डिजिटल हस्ताक्षर लागू गर्ने तयारी गरेका छन् । नेपाल सरकार अर्थमन्त्रालय अन्तर्गतको भन्सार विभागले सोमबार विराटनगर भन्सार कार्यालयको नाममा परिपत्र जारी गरेर साउन १ गतेदेखि डिजिटल हस्ताक्षर कार्यान्वयन गराउन निर्देशन दिएका छन् । विराटनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत ज्ञानेन्द्रराज ढकालले सोमबार नै सबै भन्सार एजेन्टहरूलाई साउन १ गतेदेखि डिजिटल हस्ताक्षर लागू हुने भएकोले सोही अनुसार गर्न गराउन परिपत्र जारी गरेको छन् ।

अब साउन १ गतेदेखि विराटनगर भन्सार कार्यालयबाट दोस्रो तथा तेस्रो देशबाट सामान आयात निर्यात गर्दा भन्सार एजेन्ट, भन्सार अधिकृत र भन्सारका जाँचकी सम्मले डिजिटल हस्ताक्षर गर्ने छन् । भन्सार विभागले भन्सार कार्यालयमा भन्सार एजेन्टलाई स्वयम् उपस्थित भएर आयात निर्यात गर्न लागेको सामानको प्रज्ञापन पत्रमा हस्ताक्षर गर्ने कायम रहेको परिपाटीको समेत साउनदेखि अन्त हुन लागेको छ । भन्सार विभागले भन्सार एजेन्टलाई उपलब्ध गराएको युजर आइडी नम्बरबाट निकालिने प्रज्ञापन पत्रमा भन्सार एजेन्टको सम्पूर्ण विवरण सहितको डिजिटल हस्ताक्षर हुनेछ । र सामान आयात निर्यातको जाँचपास गराउँदा त्यसबाट देखिने त्रुटि र जरिवानाको भागिदार स्वयम् भन्सार एजेन्ट हुनेछ ।

साउनदेखि भन्सार एजेन्ट नेपाल सहित विश्वको जुनसुकै देशमा रहेपनि उनले भन्सार कार्यालयबाट आयात निर्यातको सामान सहज रुपमा जाँचपास गराउन पाउने छ । र यसरी जाँच पास भएको सामान उद्योगी व्यवसायीको ठेगानामा पुग्ने छ । विराटनगर भन्सार कार्यालयका भन्सार अधिकृत एवं सूचना अधिकारी पर्शुराम दाहालले डिजिटल हस्ताक्षरका कारण अब विराटनगर भन्सार कार्यालयमा भन्सार एजेन्ट स्वयम् उपस्थिति हुने कायम रहेको परिपाटीको अन्त भएको बताए ।

अब भन्सार एजेन्टले परिचालन गरेका कर्मचारीले आयात निर्यात हुन लागेको सामानको जाँच पास गराउन सक्ने बताए । विराटनगर भन्सार कार्यालयका एजेन्ट राजेश गुप्ताले भन्सार कार्यालयमा डिजिटल हस्ताक्षर लागु भएपछि सामान जाँच पास गराउन घण्टै लाग्ने समय बचत हुने र छिटो छरितो तरिकाले सामान जाँच पास हुने बताए ।