जनता नमुना विद्यालयमा खानेपानीको फिल्टर प्लान्ट जडान

  • चिरफार डटकम, विराटनगर ३९३  पटक हेरिएको

मंगलबार, आषाढ १८, २०८१ समय : १७:५०:४६ , ५ महिना अगाडि

माहेश्वरी महिला मञ्च विराटनगरले विराटनगर–२ शंकरपुर स्थित जनता नमुना माध्यमिक विद्यालयमा खानेपानीको फिल्टर प्लान्ट जडान गरेको छ । मञ्चले शिक्षक, शिक्षिका, विद्यार्थी र सर्वसाधारणका लागि सहज रुपमा पिउने पानी उपलब्ध होस् भन्ने उद्देश्यका साथ विद्यालय परिसर भित्र र विद्यालय परिसर बाहिरको सडक पेटीमा दुई बेग्ला बेग्लै खानेपानीको फिल्टर प्लान्ट जडान गरेको हो ।

माहेश्वरी महिला मञ्च विराटनगरका अध्यक्ष पुनम राठीले शिक्षक, शिक्षिका, विद्यार्थी र सर्वसाधारण गरी प्रत्येक दिन दुई हजार भन्दा बढिले दुवै खानेपानी फिल्टर प्लान्टबाट पानी पिउन सक्ने जानकारी गराइन । राठीले विद्यालय भित्र र बाहिर जडान गरिएको फिल्टर प्लान्टबाट प्रत्येक दिन १५ सय लिटर पानी अट्ने स्टोरेज ट्याङ राखिएको र गर्मी महिनामा चिसो पानी उपलब्ध हुने बताइन । प्रति घण्टा १ सय २० लिटर पानी उत्पादन गर्ने फिल्टर प्लान्टको क्षमता रहेको छ ।

विराटनगर महानगरपालिकाका उपमेयर शिल्पा निराला कार्कीले मंगलबार दुवै खानेपानी फिल्टर प्लान्टको उद्घाटन गरेकी हुन् । माहेश्वरी समाज विराटनगरका अध्यक्ष उद्योगी घनश्याम काबरा, विराटनगर–२ का वडाध्यक्ष कुमार पोखरेल, जनता नमुना माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनोज विक्रम शाह, विद्यालयका प्रधानाध्यापक ईश्वर घिमिरे, खानेपानी फिल्टर प्लान्टको उद्घाटन समारोहमा सहभागिता रहेको थियो ।