- ब्रह्ममदेव यादव, विराटनगर ६०६ पटक हेरिएको
शनिबार, आषाढ १५, २०८१ समय : १७:२६:०६ , ५ महिना अगाडि
सुनसरी जिल्लामा मेसिनबाट धानको रोपाई सुरु भएको छ । २१औँ राष्ट्रिय धान दिवसको अवसरमा सुनसरी जिल्लाको गढी गाउँपालिकाको वडा नं. ३ स्थित छिटाहाबाट धानको रोपाई सुरु भएको हो ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई मोरङको सहयोगमा चन्द्रोदय कृषि सहकारी संस्था लि. धानजोन सुनसरीले असार १५ गते शनिबारदेखि मेसिनबाट धानको रोपाई सुरु गरेको हो ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई मोरङले उपलब्ध गराएको अनुदान रकमबाट सहकारीले धान रोप्ने मेसिन खरिद गरेका छन् । र त्यही मेसिनबाट सुनसरीका किसानलाई धान रोपाई गरिरहेका छन् ।
परियोजनाका प्रमुख मनोजकुमार यादवले मेसिनबाट धान रोपाई गर्दा किसानको ५० प्रतिशत रकम बचत भई रहेकोले मेसिनबाट धान रोपाई गर्ने किसानको संख्या बढ्दो रहेको बताए । संघिय सरकारका महिला, बालबालिका, जेष्ठ नागरिक तथा समाज कल्याण मन्त्री भगवती चौधरीले सहकारीका अध्यक्ष सुरेन्द्रप्रसाद मेहतालाई धानको बिरुवा हस्तान्तरण गरेर मेसिनबाट धानको रोपाई कार्यक्रम शुभारम्भ गरेका थिए ।
संघिय सरकारका मन्त्री भगवती चौधरी, कोशी प्रदेशका सांसद रामदेव यादव, गढी गाउँपालिकाका उपाध्यक्ष अनिताकुमारी साह, उद्योग, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. लेखराज दाहाल, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई मोरङका प्रमुख मनोजकुमार यादव, कृषि ज्ञानकेन्द्र सुनसरीका प्रमुख निलकमल सिंह, सहकारीका अध्यक्ष सुरेन्द्रप्रसाद मेहता मेसिनबाट धान रोपाई कार्यक्रममा सहभागिता जनाउँदै हातले पनि धान रोपाई गरेका थिए ।